राष्ट्रिय भेलामा साढे चार हजार प्रतिनिधि सहभागी हुने

होमल्याण्ड खबर

२०८३ श्रावण २७ गते, बुधबार १५:१३ मा प्रकाशित

नेपाली कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा साढे चार हजार प्रतिनिधि सहभागी हुने भएका छन्।

कांग्रेस नेता डा. शशांक कोइराला नेतृत्वको समितिले साउन २९ देखि ३१ गतेसम्म भेला राष्ट्रिय आयोजना गर्दै छ। भेलाको तयारी पूरा भएको प्रचार प्रसार उपसमितिका संयोजक मीन विश्वकर्माले जानकारी दिए।

साउन २९ गते सुकेधारस्थित मिराकल पार्टी प्यालेसमा भेलाको उद्घाटन हुने तय गरिएको विश्वकर्माले बताए। ‘भेलाको सबै तयारी पूरा भएको छ,’ उनले भने।

भेलामा देशभरका चार हजार पाँच सय प्रतिनिधि सहभागी हुने भएका छन्। ‘भेलामा सहभागीको मापदण्ड तोकेका छौं। त्यसका आधारमा ४५ सय जति प्रतिनिधि सहभागी हुन्छन्,’ विश्वकर्माले भने।

साउन २९ गते दिउँसो १ बजे भेला उद्घाटन गर्ने तय भएको छ। पहिलो दिन उद्घाटन सत्र र दोस्रो दिन बन्द सत्र चल्ने भएको छ।

बन्दसत्र बिहान ९ बजेदेखि १२ बजेसम्म चल्नेछ। दिउँसो खानापछि १ बजेपछि फेरि बन्दसत्र चल्ने कार्यतालिका रहेको छ।