२९ श्रावण २०८३, शुक्रबार
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट नियुक्त भएका छन्। प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्।
मुख्यमन्त्रीका लागि भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख मियाँसमक्ष दाबी पेस गरेका थिए। नेकपालाई नेकपा एमालेको समर्थन रहेको छ।


यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार प्रदेशसभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत भएपछि प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए। प्रदेश प्रमुखले शुक्रबार बिहान ११ बजेसम्मको समय दिएका थिए।
नेकपा र एमालेबीच यसअघि नै मन्त्रालय भागबन्डामा सहमति भइसकेको छ। सहमतिअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालयको नेतृत्व गर्नेछ।
स्रोतका अनुसार एमालेले आर्थिक मामिला, सामाजिक विकास र वन वा कृषि मन्त्रालयमध्ये दुई मन्त्रालयको नेतृत्व पाउनेछ।
यसअघि असार ३१ गते एमालेले बजेटप्रति असहमति जनाउँदै मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यसपछि शाहले बिहीबार प्रदेशसभामा राजीनामाको घोषणा गरेका थिए। लगत्तै उनले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको हो।