कांग्रेस महाधिवेशनमा नयाँ संकट : देउवा र खड्का पुगे सर्वोच्च अदालत

होमल्याण्ड खबर

२०८३ भाद्र ५ गते, शुक्रबार १४:४५ मा प्रकाशित

नेपाली कांग्रेसको आन्तरिक विवाद चर्किंदै जाँदा निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेका छन्।

संस्थापन पक्षले अन्य समूहसँग पर्याप्त छलफल नगरी महाधिवेशनको कार्यतालिका अघि बढाएको भन्दै देउवा र खड्काले रिट दायर गर्न लागेका हुन्।

देउवाका तर्फबाट नेता दीपक खड्का र पूर्णबहादुर खड्काका तर्फबाट अधिवक्ता श्रवणकुमार सर्वोच्च पुगेका छन्।

रिटमा कांग्रेसले सार्वजनिक गरेको महाधिवेशनसम्बन्धी कार्यतालिका र त्यसअनुसार अघि बढाइएको प्रक्रिया रोक्न उत्प्रेषणको आदेश माग गरिएको छ।

संस्थापन पक्षले भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गर्ने र असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ।

उक्त कार्यतालिका एकपक्षीय भएको आरोप असन्तुष्ट पक्षले लगाउँदै आएको छ।

यसअघि सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा पुनरवलोकनको आदेश दिएपछि महाधिवेशन प्रक्रिया अघि बढाउने विषयमा कांग्रेसभित्र विवाद थप चर्किएको हो।

महाधिवेशन रोक्ने विषयमा देउवा र डा. शेखर कोइरालाबीच पनि छलफल भएको बताइएको छ।