स्थगित प्रतिनिधिसभा बैठक आज पुनः बस्दै

होमल्याण्ड खबर

२०७५ पुष २५ गते, बुधबार १२:४४ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न सोध्न नपाएकाले आइतबार नेपाली कांग्रेसका सांसदहरूको अवरोधले स्थगित प्रतिनिधिसभा बैठक आज पुनः बस्दैछ ।

स्थगित बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

कांग्रेसले आजको बैठकमा पनि प्रधानमन्त्रीसँग प्रश्न गर्न नपाए अवरोध गर्ने जनाएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीसँग प्रश्न सोध्ने र उनले जवाफ दिने कार्यसूची तय गरेन भने बैठक अवरुद्ध गर्ने कांग्रेसका एक नेताले जानकारी दिएका छन् ।

सभामुखले संसद नियमावलीको नियम २१९ अनुसार सार्वजनिक महत्वको विषयमा मन्त्री वा प्रधानमन्त्रीले संसदमा दिएको वक्तव्यमाथि प्रश्न सोध्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने उनले जनाएका छन् ।

गत आइतबार प्रधानमन्त्रीले दिएको वक्तव्यमा प्रश्न सोध्न खोज्दा सभामुख कृष्णबहादुर महराले अनुमति नदिएपछि कांग्रेसले सदन अवरुद्ध गरेको थियो ।

आजको बैठकमा संसद् सचिवालयले केही विधेयक पेश गर्नेगरी बैठकको कार्यसूची सार्वजनिक गरेको छ । संसद बैठकअघि १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।