विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छः रास्वपा सभापति लामिछाने

होमल्याण्ड खबर

२०८३ भाद्र १० गते, बुधबार १६:२४ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक विपद्को सामना गर्न सरकार र सबै राजनीतिक दल एकढिक्का भएर राहत तथा उद्धारमा परिचालित हुन आह्वान गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँले दलका राहत तथा उद्धारमा दक्ष, जानकार र तालिमप्राप्त जनशक्तिलाई सरकारी निकाय तथा स्थानीय प्रशासनसँग समन्वय गरी प्रभावित क्षेत्रमा परिचालन गर्न आग्रह गर्नुभयो । उहाँले राहत र उद्धारका लागि राजनीतिक दलहरूले एकीकृत खाका बनाएर काम गर्नुपर्ने तथा कुनै दलको झण्डाभन्दा देशको झण्डामुनि एकजुट हुनुपर्ने बताउनुभयो ।

“यो विपत्तिमा पक्ष–प्रतिपक्ष होइन, एकैसाथ सरकारको साथमा छौँ भन्ने जुन उच्च राजनीतिक संस्कारको प्रदर्शन भयो, म विपक्षीलाई धन्यवाद दिन चाहन्छु,” उहाँले भन्नुभयो । उहाँले बिहानैदेखि प्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्रीलगायत सम्बन्धित सरकारी संयन्त्रका अधिकारीसँग निरन्तर सूचना आदानप्रदान र विपद् व्यवस्थापनका रणनीतिबारे आफूले छलफल गरिरहेको जानकारी दिनुभयो । सरकारले आफ्नो सम्पूर्ण सामथ्र्य नागरिकको जीवन रक्षामा लगाउने विश्वास व्यक्त गर्दै उहाँले प्रभावित क्षेत्रमा पर्याप्त सुरक्षा, जनशक्ति तथा सम्भव भएसम्म सबै स्रोतसाधन परिचालन गर्न आग्रह गर्नुभयो ।

“नागरिकको ज्यान बचाउने कुरा यतिखेर सबैभन्दा महत्वपूर्ण कुरा हो,” रास्वपा सभापति लामिछानेले भन्नुभयो, “सरकारले आफ्नो सम्पूर्ण सामथ्र्य सबैभन्दा पहिला नागरिकलाई बचाउनमा लगाउनेछ भन्ने विश्वास छ ।” उहाँले बाढी प्रभावित रसुवा र धादिङका नदी तटीय क्षेत्रका बासिन्दालाई थप क्षति हुन नदिन सचेत रहन, धैर्य धारण गर्न र सरकारी संयन्त्रको सम्पर्कमा रहन आग्रह गर्नुभयो ।

चितवन, नवलपरासीलगायत नदी तटीय क्षेत्रका बासिन्दालाई पनि सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो । साथै अपाङ्गता भएका व्यक्ति, महिला, वृद्धवृद्धा तथा बालबालिकालाई उद्धार तथा राहतमा प्राथमिकता दिनुपर्नेमा सभापति लामिछानेले जोड दिनुभयो ।

रास्वपाले समन्वयको अग्रसरता लिने

सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने प्रतिबद्धता आएको उल्लेख गर्दै सभापति लामिछानेले दलहरूसँग रहेका राहत तथा उद्धार संयन्त्रलाई सरकारसँग समन्वय गरी परिचालन गर्न आग्रह गर्नुभयो । विसं २०७२ को भूकम्पमा राजनीतिक दलहरूले देखाएको उच्च राजनीतिक संस्कार स्मरण गर्दै उहाँले विपद्का बेला राजनीतिक स्वार्थभन्दा माथि उठेर नागरिक सेवामा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

संसद्को सबैभन्दा ठूलो राजनीतिक दलका रूपमा रास्वपाले विपद् व्यवस्थापनमा बढी जिम्मेवारी लिनुपर्ने उल्लेख गर्दै सभापति लामिछानेले आवश्यक समन्वयका लागि पार्टीले अग्रसरता लिने जानकारी दिनुभयो । आवश्यक परे सबै दलको बैठकमार्फत समन्वयकारी भूमिका निर्वाह गर्ने उहाँको भनाइ थियो ।

प्रभावित नागरिकप्रति दुःख व्यक्त

सभापति लामिछानेले बाढीबाट भएको अपूरणीय जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकसँग सिङ्गो राष्ट्र र सरकार साथमा रहेको बताउनुभयो । उहाँले यो कठिन परिस्थितिलाई संयमतापूर्वक सामना गर्नुपर्ने उल्लेख गर्दै प्रभावित क्षेत्रमा मानवीय सहायता र उद्धारलाई प्रभावकारी बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सभाको रोष्ट्रमबाट विपद्मा प्रभावित नागरिकलाई सतर्क र धैर्य रहन, सरकारलाई सम्पूर्ण स्रोतसाधन परिचालन गर्न, राजनीतिक दललाई एकढिक्का भएर उद्धारमा जुट्न तथा अन्तरराष्ट्रिय समुदायलाई नेपाल सुरक्षित रहेकाले विश्वास गर्न आग्रह गर्नुभयो । रासस