भोटेकोसी बाढी विश्वव्यापी वातावरणीय संकटको चेतावनी हो : ओली

होमल्याण्ड खबर

२०८३ भाद्र १५ गते, सोमबार १६:२३ मा प्रकाशित

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भोटेकोसीमा आएको बाढीलाई विश्वव्यापी वातावरणीय संकटको गम्भीर संकेतका रूपमा लिनुपर्ने बताएका छन् ।

सोमबार (भदौ १५) पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले राजधानी प्रदेश कमिटीले बाढीपीडितका लागि हस्तान्तरण गरेको १० लाख रुपैयाँको चेक ग्रहण गर्दै उनले भोटेकोसीको बाढीले विश्वव्यापी वातावरणीय संकट र हिमालको भविष्य संकटमा रहेको संकेत दिएको बताए ।

“ग्लोबल फेनोमेनन र इन्भारोमेन्टल फेनोमेननमा यो एउटा गम्भीर धक्का दिएको हो । वार्निङ हो भनेर बुझ्नुपर्दछ,” ओलीले भने, “यस वार्निङलाई त्यसैगरी बुझ्न म ग्लोबल समुदायलाई आग्रह गर्न चाहन्छु ।”

रसुवाको भोटेकोसीमा आएको बाढीको घटनालाई ‘ग्लोबल फेनोमेनन’ र ‘इन्भारोमेन्टल फेनोमेनन’का रूपमा बुझ्न विश्व समुदायलाई उनले आग्रह गरे ।

नेपालले जलवायु तथा वातावरणीय संकटलाई केन्द्रमा राखेर तत्काल सगरमाथा संवाद आयोजना गर्नुपर्ने उनको भनाइ छ । “मलाई लाग्छ नेपालले फेरि एकपटक यो विषयलाई केन्द्रमा राखेर सगरमाथा संवादको अविलम्ब आयोजना गर्नुपर्दछ,” ओलीले भने ।

भोटेकोसी बाढीलाई दृष्टान्त बनाएर विश्वव्यापी वातावरणीय समस्या, पारिस्थितिक प्रणालीमा देखिएको खतरा, ग्लोबल वार्मिङ र हिमालको भविष्यबारे विश्वका नेता, वैज्ञानिक तथा विज्ञहरूबीच तत्काल छलफल गर्न आवश्यक रहेको उनको भनाइ छ ।

“यी चीजहरूमाथि एउटा विश्वका नेताहरू र वैज्ञानिकहरू, विज्ञ, विशेषज्ञहरू जम्मा गरेर अविलम्ब एउटा गोष्ठी गर्नुपर्छ,” ओलीले भने, “बाढी त फेरि पनि आउँछ, आइरन्छ । फेरि पनि यो कुरा दोहोरिन सक्छ । यहाँ दोहोरिएन भने अर्को ठाउँमा दोहोरिन्छ ।”

हिमालको भविष्य नै विश्वव्यापी पारिस्थितिक प्रणालीको भविष्य भएकाले त्यसको संरक्षणका लागि अन्तर्राष्ट्रिय तहमा गम्भीर छलफल आवश्यक रहेको उनको भनाइ छ । न्युज एजेन्सी नेपाल