बाढी प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम, सतर्क रहन विज्ञको सुझाव

होमल्याण्ड खबर

२०८३ भाद्र १६ गते, मंगलवार १०:४५ मा प्रकाशित

 भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९०३ पुगेको छ। बाढीमा परेर अझै ४ हजार २४७ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

बाढीमा परी घाइते हुनेको संख्या २६७ पुगेको जनाएको छ। घाइतेमध्ये १५६ जना उपचारपछि डिस्चार्ज भएका छन्। त्यस्तै, बाढी प्रभावित क्षेत्रमा हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ। सम्पर्कविहीनहरूको खोजी तथा उद्धारलाई प्राथमिकताका साथ अघि बढाइएको जनाइएको छ।
बाढी र पहिरोले ठूलो जनधनको क्षति गराएसँगै प्रभावित क्षेत्रमा संक्रामक रोग फैलिने जोखिमसमेत बढेको चिकित्सकहरूले बताएका छन्। विपद्पछि खानेपानीका स्रोत दूषित हुने, खाना असुरक्षित बन्ने, फोहोर व्यवस्थापनमा समस्या आउने तथा मानिसहरू भीडभाडमा बस्नुपर्ने भएकाले विभिन्न रोगको संक्रमण फैलिन सक्ने उनीहरूको भनाइ छ।

विशेषगरी हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेङ्गु, मलेरिया तथा श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बाढी प्रभावित क्षेत्रमा बढ्न सक्ने चिकित्सकहरू बताउँछन्। समयमै सावधानी नअपनाए प्राकृतिक विपत्तिपछि अर्को स्वास्थ्य संकट निम्तिन सक्ने उनीहरूको चेतावनी छ।