३० कार्तिक २०८१, शुक्रबार
प्रधानमन्त्री केपी शर्मा ओलीले टुटल र पठाओलाई बन्द नगर्न निर्देशन दिएका छन् । बुधबार बसेको राष्ट्रिय विकास समाधान समितिको बैठकमा उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई यस्तो निर्देशन दिएको समितिमा सहभागी मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोग गरी भाडामा यात्रु बोक्न रोक लगाइएकोबारे धेरै टिकाटिप्पणी र बहस सुरु हुन थालेपछि ती कम्पनीहरुलाई बन्द नगर्ने निर्देशन दिएका हुन् ।
उनले समस्या समाधान गर्न तर्फ जानुपर्ने भन्दै कम्पनी नै बन्द गर्दा अस्तव्यस्तता बढ्ने र अन्तराष्ट्रिय स्तरमा पनि यसले सकारात्मक सन्देश नजाने प्रतिक्रिया दिए । बरु कानून बनाएर यस्ता कम्पनीहरुलाई नियमन गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएको ती अधिकारीले जानकारी दिए ।
यी कम्पनीहरुमाथिको प्रतिबन्धले प्रमुख प्रतिपक्षी दल काँग्रेसदेखि सामाजिक सञ्जालसम्म धेरैले विरोध गरेका थिए । उनले जनताको जीवनसँग जोडिएको यस्ता विषयलाई हचुवाको भरमा रोक्ने निर्णय गर्नु गलत भएको भन्दै तुरुन्त पहिले झैँ चल्न दिन निर्देशन दिएका हुन्। प्रधानमन्त्रीको निर्देशन पछि मन्त्रीले पनि मन्त्रालयका अधिकारी र ट्राफिक महाशाखालाई समेत निर्देशन दिईसकेका छन् ।