३० कार्तिक २०८१, शुक्रबार
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्दैछ ।
पार्टीको हालै सम्पन्न महासमिति बैठकपछि पहिलो पटक केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो । बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुर सानेपामा बिहान ११ बजे बस्ने छ ।
बैठकको पहिलो मुद्दा नै नेविसंघको मौजुदा कार्यसमिति भविष्य निर्धारण गर्न केन्द्रित हुने छ । नेविसंघको वर्तमान कार्य समितिको अवधि थप गर्ने वा नयाँ कार्यसमिति गठन गर्ने भन्ने निर्णय केन्द्रीय समिति बैठकले गर्ने छ ।
यसैगरी, महासमिति बैठकले पारित गरेको पार्टीको विधानमा प्राप्त सुझावलाई समावेश गरी कार्यसमितिले विधानलाई अन्तिम रूप दिने छ ।
यस्तै, बैठकमा सरकारका गतिविधि, वाइडबडी जहाज खरिदमा अनियमितता भएको भनिएको, चिकित्सक प्राध्यापक डा. गोविन्द केसीको जारी अनसन, पूर्व प्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएका दुईवटा अस्पतालका विषय लगायतका विषयमा बैठकमा छलफल हुने छ ।