सरकारले जनकपुर चुरोट कारखाना बेच्न लागेको कांग्रेस नेता निधिको आरोप

होमल्याण्ड खबर

२०७५ माघ १६ गते, बुधबार १५:२४ मा प्रकाशित

नेपाली कांग्रेसका उपसभापति एवं पूर्वगृहमन्त्री विमलेन्द्र निधिले सरकारले जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) बेच्न लागिपरेको आरोप लगाएका छन् ।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित कांग्रेस पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ओलीले सरकारले जचुकालि पुनः सञ्चालन गर्ने कुरा गरेर जचुकालिको सम्पत्ति भ्रष्टाचार गर्न तथा बेच्ने षड्यन्त्र गर्न लागिपरेको आरोप लगाए ।

नेता निधिले प्रदेश प्रमुखको कार्यालय र आवास, मुख्यमन्त्रीको कार्यालय र आवास, विभिन्न मन्त्रालय र मन्त्रीको आवास, सभा सम्मेलन गर्ने स्थानलगायतका पर्याप्त भौतिक संरचना रहेको जचुकालिको भवनले प्रदेश सरकारको कार्य सञ्चालनमा सहजता हुने बताए ।

नेता निधिले प्रदेश २ को राजधानी जनकपुरबाट सार्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टीका केही नेताले चलखेल गर्न लागेको भन्दै यस्तो गतिविधि कांग्रेसका लागि स्वीकार्य नहुने पनि बताए ।
उनले प्रदेश २ को नाम मिथिला भोजपुरा राख्ने र पहिलो भाषा मैथिली तथा दोस्रो भाषा भोजपुरी राख्न सुझाव दिए ।