सरकारलाई डा. केसीको माग पूरा गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको आग्रह

होमल्याण्ड खबर

२०७५ माघ १६ गते, बुधबार १६:२५ मा प्रकाशित

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारसामू आमरण अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्न आग्रह गरेकी छन् ।

बुधबार दिउँसो डा. केसीलाई भेट्न शिक्षण अस्पताल स्थित अनसनस्थल पुगेकी उनले डा. केसीका मागबारे समाधान खोज्न सरकारलाई आग्रह गरेकी हुन् ।
धेरै माग पूरा भएको बताउँदै कार्कीले बाँँकी रहेका विषयमा पनि समाधान खोज्नु पर्ने बताइन् ।

पूर्वप्रधानन्यायाधीश कार्कीले डा. केसीले कुनै राजनीतिक दलको पक्षपोषण भन्दा पनि जनताका जायज माग उठान गरेको बताइन् । माथेमा आयोगले तयार पारेको प्रतिवेदन अनुसार डा. केसीका माग सम्बोधन हुनु पर्ने उनले बताइन् । सरकारले थोरै मागलाई किन अड्काएर जिद्दी गरेको आफूले नबुझेको उनले बताइन् ।

‘डा. केसीको माग पुरा गर्याे भने राष्ट्रको जित हुन्छ, प्रधानमन्त्रीको जित हुन्छ’ उनले भनिन, ‘उहाँको माग पूरा हुन्छ । ढिला गर्नु बेकार छ ।’ कार्कीले डा. केसीका माग पूरा गरेर उहाँको जीवन रक्षा गरिदिन पनि सरकारसँग आग्रह गरिन् ।
उनले डा. केसीलाई ‘निश्चिन्त हुनुस्, तपाईंको माग पूरा हुन्छ’ भन्ने ढाडससमेत दिएकी छन् ।