३० कार्तिक २०८१, शुक्रबार
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ राष्ट्रियसभामा आज प्रस्ताव पारित गर्ने कार्यसूची छ ।
दिउँसो दुई बजे बोलाइएको राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विधेयक पारित होस् भन्ने प्रस्ताव पारित गर्ने कार्यसूची छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधबीच प्रतिनिधिसभाबाट पारित भएको विधेयक गत सोमबार राष्ट्रियसभामा प्रस्तुत भएको थियो ।
बिहीबार बस्ने बैठकमा अन्य कार्यसूची हटाएर चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची मात्रै राखिएको संसद सचिवालयका सह–प्रवक्ता केशव अर्यालले जानकारी दिए ।
अवरोध र होहल्लाबीच प्रतिनिधिसभा बैठकबाट पारित भएको विधेयक राष्ट्रियसभामा भने रोक्ने कांग्रेसको तयारी छ । प्रतिनिधिसभामा प्रतिपक्षीलाई पेलेर पारित गरेको चिकित्सा विधेयक आज राष्ट्रियसभा बैठकमा पनि पेलेरै अघि बढ्ने मनस्थितिमा सत्तापक्ष छ ।
गत माघ ११ गते बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसको अवरोधबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरिएको थियो ।