३० कार्तिक २०८१, शुक्रबार
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा पनि अवरोध गरेपछि बैठक स्थगित भएको छ ।बिहीबार बसेको बैठकमा २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै कांग्रेसले बैठकमा अवरोध गरेपछि बैठक स्थगित भएको हो ।
बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले डा. केसीको अनशन २३ दिनसम्म पुग्दा पनि सरकारले वार्ताको चासो नदिएको भन्दै आक्रोश ब्यक्त गरेका थिए । उनले भने, ‘कांग्रेसलाई नदेख्नेहरु सकिने गरेको इतिहास छ, राणा सकिए, पञ्चायत सकियो, राजतन्त्र सकियो, महेन्द्र सकिए, ज्ञानेन्द्र सकिए, त्यसैले कसैले संसदमा दम्ब देखाउनु पर्दैन ।बहुमत छ भन्दैमा जे पायो त्यहि गर्न मिल्दैन ।’
उनले प्रधानमन्त्रीको कार्यशैलीप्रति व्यङ्ग गर्दै भने ‘एउटा गीत छ( नयाँनयाँ जवानी छ, नयाँनयाँ रंग‘ प्रधानमन्त्रीजी आफ्नो रूप हेरी आफैं दंग हुनुहुन्छ । हरेक हरेक दिन ऐनामा हेरेर क्या गज्जब छु म ! क्या गज्जबसँग देश चलाइरहेको छु मैले !, यो बाटोबाट चल्दैन । यो लोकतन्त्रको बाटो होइन।’ नेता रिजालले संसदमा रहेको फरक मतलाई सत्ताले दबाउन खोजेको आरोप समेत लगाए ।
कांग्रेसका सांसदहरुले विवादित चिकित्सा विधेयक नसच्याएसम्म संसद् चल्न नदिने भन्दै उठेर विरोध जनाएपछि सभामुखले अर्को बैठक माघ २० गते आइतबार बस्ने गरी यो बैठक स्थगित गरेका हुन् ।