प्लास्टिकका खोलहरु कम्पनीले नै फिर्ता लिने व्यवस्था गर्न सरकारलाई सांसद बस्नेतको आग्रह

होमल्याण्ड खबर

२०७५ माघ २५ गते, शुक्रबार १३:४० मा प्रकाशित

नेकपाका सांसद महेश बस्नेतले प्लास्टिकका खोल भएका सामानहरु प्रयोग गरिसकेपछि प्लास्टिकका खोलहरु कम्पनीले नै फिर्ता लिने व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रवारको बैठकको शून्य समयमा बस्नेतले प्लास्टिकहरू सरसफाइमा बाधक बनेको भन्दै प्लास्टिकका खोल भएका सामानहरु प्रयोग गरिसकेपछि प्लास्टिकका खोलहरु कम्पनीले फिर्ता लिए आफ्नो टोल छिमेक सरसफाई हुने बताएका हुन्।

उनले प्लास्टिकको अतिरिक्त मूल्य लिने र त्यसलाई फिर्ता गरेपछि अतिरिक्त रकम फिर्ता गर्ने व्यवस्था मिलाउन सरकारसँग माग समेत गरे ।

बस्नेतले भने, ‘सामान किन्दा प्लास्टिकको अतिरिक्त मूल्य लिने र त्यो प्लास्टिक फिर्ता गरेपछि रकम पनि फिर्ता गर्ने व्यवस्था गर्न माग गर्दछु ।

जस्तो कि चाउचाउको मूल्य १५ छ भने त्यसलाई १६ रुपैयाँमा बिक्री गर्ने र त्यसको खोल फिर्ता गरेपछि १ रुपैयाँ फिर्ता दिँदा सरसफाइमा योगदान पुग्छ ।’

सांसद बस्नेतले बाग्मती, हनुमन्ते, मनोहरा लगायतका नदी सफाइका सयौं हप्ता पुग्दासम्म पनि पलास्टिकका खोल, गुट्खा र सुर्ती खोल अत्यधिक पाइएकाले सुर्ती र गुट्खा निषेध गर्नुपर्ने बताए।