९ मंसिर २०८१, आईतवार
एजेन्सी । रोहित शर्माको आक्रामक अर्धसतक प्रेरित भारतले शुक्रबार अकल्यान्डमा घरेलु टोली न्युजिल्यान्डमाथि सात विकेटको जित दर्ता गराउँदै तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला १–१ को बराबरीमा ल्याएको छ ।
पहिलो खेलमा भारत ८० रनले पराजित भएको थियो । बराबरीमा पुगेको शृंखलाअन्तर्गत निर्णायक तेस्रो खेल आइतबार ह्यामिल्टनमा हुनेछ । न्युजिल्यान्डले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याउने क्रममा कार्यवाहक कप्तान रोहितले २९ बलमा ४ छक्का र ३ चौकासहित ५० रन बनाएपछि भारत १८.५ ओभरमा १ सय ६२ रन बनाउँदै विजयी भयो ।
ट्वान्टी–२० अन्तर्राष्ट्रियमा रोहितले सर्बाधिक रन बनाउने खेलाडीको कीर्तिमान बनाउने क्रममा शुक्रबारको अर्धसतकसँगै कुल रनसंख्या २ हजार २ सय ८८ पुर्याएका छन् । यसक्रममा उनले चार सतक तथा २० अर्धसतक प्रहार गरिसकेका छन् । पहिलो विकेटका रुपमा १०औं ओभरमा पवेलियन फर्किनुअघि रोहितले ओपनिङ पार्टनर शिखर धवन (३०)सँग ७९ रनको साझेदारी गरेका थिए ।
३१ बलमा २ चौका प्रहार गरेका शिखरले दोस्रो विकेटका रुपमा आउट हुनुपूर्व ऋषव पन्तसँग ९ रन थपे । अविजित ४० रनको योगदान गरेका ऋषवले विजय शंकर (१४) सँग २० रनको साझेदारी गरे । पूर्व कप्तान महेन्द्रसिंह धोनीले ऋषवलाई अविजित ४४ रन जोड्न साथ दिएपछि भारतको जित सहज बन्यो । ऋषवले २८ बलमा ४ चौका र १ छक्का प्रहार गरे भने १७ बल खेलेका धोनीले १ चौका प्रहार गरेका थिए । न्युजिल्यान्डका लकी फर्गुसन, इश सोधी र डारिल मिचेलले एक÷एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गर्ने क्रममा कोलिन डी ग्रान्डहोमले अर्धसतक बनाएपछि न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो । ५० रन बनाउँदा चार विकेट गुमाइसकेको न्युजिल्यान्डको इनिङ उकास्न ग्राण्डहोमले रस टेलरसँग पाँचौं विकेटका लागि ७७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । ग्रान्डहोमले २८ बलमा ४ छक्का र १ चौका प्रहार गरे । ४२ रन बनाएका टेलरले ३६ बलमा ३ चौका हानेका थिए ।
यसैगरी न्युजिल्यान्डका लागि केन विलियम्सनले २० तथा ओपनरद्धय टिम सिफर्ट र कोलिन मुनरोले समान १२ रन बनाउनुवाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । भारतका लागि क्रुनाल पान्ड्याले तीन विकेट लिए भने खलिल अहमदले २ तथा भुवनेश कुमार र हार्दिक पान्ड्याले एक–एक विकेट लिए ।