९ मंसिर २०८१, आईतवार
काठमाडौं गोल्डेन्सले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा साविकको विजेता धनगढी स्टार्सलाई ४ विकेटले हराउँदै काठमाडौंले विजयी सुरुवात गरेको छ ।
सोमबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सोमपाल कामीको धनगढीले दिएको १३३ रनको लक्ष्य काठमाडौंले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर पुरा गरेको हो ।
काठमाडौंका लागि अंकित दबासले २९, गौरब तमोरले २८, अनिल कुमार साहले २४ रन जोडे । यस्तै बिक्रम कुमार भुसाल १४ र महेबुब आलमले अविजित १२ रन बनाए ।
धनगढीका रोहन मुस्तफाले ४ विकेट लिए । बिपिन खत्री र अमिर हायतले १/१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १३२ रन बनाएको थियो ।
खराब सुरुवात गरेको धनगढीका लागि अमित श्रेष्ठले अर्धशतक बनाए ।
काठमाडौंका नन्दन यादबले २ विकेट लिए । ललित नारायण राजवंशी र अंकित दबासले १/१ विकेट लिए ।
जितसँगै काठमाडौंले २ अंक जोडेको छ ।