३० कार्तिक २०८१, शुक्रबार
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर राणाले सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुवै असफल भएको दाबी गरेका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले एक वर्षलाई हेर्दा अवसरको सदुपयोग गर्न नसकेको भन्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘ओली सरकारलाई मान्नैपर्छ । ०४७ सालपछि पहिलोपटक दुई तिहाईको बहुमत ल्याउन सफल भएको छ । ओलीजीको लागि यो मौका हो ।’
राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाईको मौकाको सही सदुपयोग भने गर्न नसकेको आरोप लगाए । उनले भने, ‘उहाँ यो मौका प्रयोग गर्न असफल हुनुभयो ।
यो एक वर्षमा सरकारले के–के राम्रो काम गर्यो त भनेर पाना–पाना पल्टाई पल्टाई हेर्यौं भने मौका खेर फालेको पाईन्छ । सरकारले यो एक वर्षमा हाँसिल गरेका उपलब्धि शुन्य छ ।’
व्यापार घाटापनि डरलाग्दो रहेको उनको भनाई छ । उनले भने, ‘आयातको दश प्रतिशत जति पनि निर्यात भएको छैन् । हरेक क्षेत्रमा सरकारले खास केही प्रगति गर्न सकेको छैन् । काम केही भएकै छैन् ।’ उनले अघि थपे,‘बुढीगण्डकीको ठेक्का प्रक्रिया नै नगरी एउटा कम्पनीलाई किन दिईयो ? यसरी दिँदा भ्रष्टाचार भयो कि भएन ? म प्रश्न गर्न चाहन्छु।’ त्यस्तै उनले वाईडबडी जहाज खरिद गर्दा पनि ठूलो घोटाला भएको छ ।
कुटनीतिक क्षेत्रमा पनि सरकारले सन्तुलन कायम गर्न नसकेको राणाले आरोप लगाउँदै उनले भने, ‘अहिले कुटनीतिक सन्तुलन गुमेको छ । हामी एकतीर ढल्केका छौं।’ उनले भेनेजुयला प्रकरणमा पनि वक्तव्य जारी गरेर अमेरिकासँग जोरी खोज्ने काम गरेको भन्दै सरकार तथा नेकपाको आलोचना गरे । उनले भने,‘भित्तासित कुहिनो ठोक्ने काम भयो । यस्तो गर्नुहुँदैनथियो । भेनेजुयलासँग नेपालको दौत्य सम्बन्ध छ कि छैन मलाई त सन्देह नै लाग्छ ।’