आयल निगमले जोड्यो डेढ अर्ब सम्पत्ति

होमल्याण्ड खबर

२०७४ पुष २७ गते, बिहीबार ०९:५४ मा प्रकाशित

नेपाल आयल निगमले डेढ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जोडेको छ । निगमको ४८ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले ४८ औँ वर्षमा रू. डेढ अर्बको सम्पत्ति जोड्न सफल भएको बताएका हुन् ।

यस्तै निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले पेट्रोलियम पदार्थको पाइपलाइन पूरा गर्न र भण्डारण क्षमता बढाउने कार्य अगाडि बढिरहेको जानकारी गराए ।

कार्यक्रममा सरोकारवालाहरूले पेट्रोलियम पदार्थको निर्भरतालाई घटाउँदै वैकल्पिक ऊर्जाको व्यवस्थापनमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा आपूर्तिमन्त्री जयन्त चन्दले विश्वमा सबैभन्दा बढी तेल उत्पादन एवम् निर्यात गर्ने संयुक्त अरब इमिरेट्सले समेत वैकल्पिक ऊर्जाको व्यवस्थापनका लागि करोडौँ डलर खर्च गरिरहेको बताए । आर्थिक विकासका लागि मात्र नभई सार्वभौमसत्ताको रक्षाका लागि पनि पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाइनुपर्ने उनले बताए ।

मन्त्रालयका सचिव एवम् निगम सञ्चालक समितिका अध्यक्ष अनिलकुमार ठाकुरले उर्जा नीतिका लागि रणनीतिक र व्यापार योजना तयार गर्ने तयारी गरिएको बताए । ‘मन्त्रालयले ऊर्जा नीति ल्याउने तयारी गरेको छ, नीतिमा वैकल्पिक ऊर्जाका विषयमा स्पष्ट खाका आउनेछ, पेट्रोलियम पदार्थको निर्भरता घटाउन वैकल्पिक ऊर्जाको आवश्यकता छ, आपूर्ति नीति तयार भइसककेको छ’ –उनले भने ।

सो अवसरमा निगमले संस्थापक महाप्रबन्धक सुवर्णविक्रम थापाको सम्झनामा स्थापना गरेको सुवर्ण स्मृति पुरस्कार हवाइ इन्धन डिपो सिनामङ्गलमा कार्यरत सुरक्षाकर्मी यादव खड्कालाई प्रधान गरेको छ । पुरस्कारको राशि रू. ५१ हजार छ । रासस