१३ बैशाख २०८३, आईतवार
१५ औं अन्तर्राष्ट्रिय औधोगिक व्यापार मेला तथा घरेलु उधोग महोत्सव २०७५ राजधानीमा आयोजना हुने भएको छ । नेपाली स्थानीय घरेलु तथा साना उद्योगका उत्पादनको प्रवद्र्घन र बजारीकरण गर्ने उद्देश्यले मेला आयोजना हुन लागेको हो ।
“नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं” र “मेहनत, सिर्जना, उत्पादन र वस्तु मैरै नेपालको” भन्ने नाराका साथ यही फागुन २३ गतेदेखि आयोजना हुन लागेको हो । नेपाल घरेलु तथा साना उधोग महासंघले राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा फागुन २३ देखि २७ गतेसम्म घरेलु उधोग महोत्सव र तेश्रो प्राङ्गारिक कृषि मेला–२०७५ आयोजना गर्न लागेको हो ।


समृद्ध नेपाल, सुखी नेपालीको नारालाई अभियानका रुपमा सञ्चालन गर्ने उद्घोष गरेको वर्तमान सरकारको कार्य मुलुकको समृद्धीतर्फ केन्द्रीत हुनुपर्ने परिप्रेक्ष्यमा मुलुकभरका झण्डै चार लाख लघु, घरेलु तथा साना उधोगहरुलाई प्रतिबिम्बित गर्ने प्रदर्शनीको मुख्य उद्देश्य रहेको महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले बताए ।
नेपालमा लघु, घरेलु तथा साना उधोग आर्थिक विकास र समृद्धीका संवाहकका रुपमा रहेका भएतापनि प्रविधि प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योगहरु प्रतिस्पर्धी बन्न नसकेको हुँदा आकर्षक प्रतिफल दिन नसकिरहेको उनले बताए ।
मेलाले मुलुकको औधोगिकरणको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उधोग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनी समावेश हुनेछ ।
प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उधमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने छ । प्रदर्शनीमा २०० वटा स्टलको व्यवस्था हुने र २ लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेलामा ७ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा हुने मेलाको सह–आयोजकको रुपमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय– व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, लघु, घरेलु तथा साना उधोग विकास कोष, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय–राष्ट्रपति महिला उत्थान कार्यक्रम रहने छन् ।