९ मंसिर २०८१, आईतवार
श्रमिकको सेवा सुविधाका लागि सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम विभिन्न बैंकहरुमा राखिने भएको छ ।
सरकारले सामाजिक सुरक्षा कोषमा रहेको कुल रकममध्ये २ अर्ब ६ करोड १० लाख रुपैयाँ बैंक मार्फत लागनी गर्ने भएको हो ।
कोषको रकम लगानी गर्ने सम्बन्धी कार्यविधि, २०७५ र सामाजिक सुरक्षा ऐनअनुसार श्रमिकको विभिन्न सुविधाका लागि कोषमा जम्मा भएको रकम लागानी गर्न सकिने व्यवस्था अनुसार सो रकम बैंकहरु मार्फत लागानी गर्न लागिएको कोषले जनाएको छ ।
कोषको रकम अन्य तोकिएका क्षेत्रमा लगानी गर्न पाउने भएपनि हाललाई भने ‘क’ वर्गको वाणिज्य बैंकहरुमा लागनी गर्न प्रस्ताव आह्वान गरिएको बताइएको छ ।
कोषले रकम लिन चाहने वाणिज्य बैंकलाई लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदरसमेत खुलाई आवेदन दिन प्रस्ताव समेत गरेको छ ।
रकम लिन चाहने बैंक नेपाल राष्ट्र बैंकबाट तोकिएको न्यूनतम चुक्ता पूँजी पुर्याएको र न्यूनतम पुँजीकोष अनुपात (११ प्रतिशत वा सो भन्दा बढी) कायम गरेको हुनुपर्ने उल्लेख छ ।
कोषमा रहेको रकम ५० लाख भन्दा कम लिन नपाउने गरी लगानीको सीमा निर्धारण समेत गरिएको बताइएको छ । कार्यविधिमा कोषले अधिकतम ब्याजदर दिने वाणिज्य बैंकलाई आधार बनाएर लगानी गर्ने जनाइएको छ ।