१२ मंसिर २०८१, बुधबार
भक्तपुर मध्यपुर थिमी नगरपालिका वडा नं ३ कौशलटार डाँफेटोलमा रहेको श्रेष्ठ फर्निचर उद्योगमा आगलागी भएको छ ।
आइतबार राति ११ः३० बजेदेखि लागेको आगो बिहान ३ः३० मा नियन्त्रणमा आएको थियो ।
उक्त फर्निचर उद्योग जलेर पुर्ण रुपमा नष्ट भएको छ, उद्योगसँगै रहेको राजु श्रेष्ठको चार तले पक्की घरको पछाडीको भागमा आंशिक क्षति हुनुका साथै प्रदिप सिलवालको चार तले पक्की घरको पछाडीको भागमा आंशिक क्षति भएको बताइएको छ ।
साथै उक्त स्थानकै दुर्गा श्रेष्ठको घर कम्पाउण्डमा रहेको टहरामा मंगल श्रेष्ठले संचालन गरेको कुल्फी उद्योगमा समेत क्षति भएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन ।
घटना स्थलमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरिक्षक हिमालय कुमार श्रेष्ठको कमाण्डमा ६५ जना नेपाल प्रहरी, नेपाली सेनाको बिरदल गण सुर्यबिनायकबाट ६५ जना, सप्रगण दुवाकोटबाट ३५ जना सुरक्षाकर्मी र स्थानीय नागरिक तथा काठमाण्डौ, ललितपुर, भक्तपुर, नेपाली सेना र नेपाल प्रहरी समेतको ७ वटा दमकल र स्थानीय खानेपानीका पानी ट्याङ्कर समेतको सहयोगमा नियन्त्रणमा आएको बताइएको छ ।
आगलागीबाट ३ करोड मूल्य बराबरको क्षति भएको फर्निचर संचालक राम श्रेष्ठले बताएपनि क्षतिको पुर्ण विवरण आउन बाँकी रहेको र थप अनुसन्धान कार्य जारी रहेको हिमालय कुमार श्रेष्ठले नेपाल तारासँग बताए ।