नेपाल र बंगलादेशीबीच दोहोर कर उन्मुक्ति सम्झौता

होमल्याण्ड खबर

२०७५ फाल्गुन २१ गते, मंगलवार १४:०९ मा प्रकाशित

नेपाल र बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्झौता भएको छ। मंगलबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा एक कार्यक्रमका बीच राजस्व सचिव लालशंकर घिमिरे र बंगलादेशका राजस्व सचिव मसर्फ हुसैनले दुई मुलुकबीच दोहोरो कर उन्मुक्तिसम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका हुन्।

दुवै देशको मन्त्रिपरिषद बैठकले पारित गरेपछि दोहोरो कर उन्मुक्ति सम्बन्धि सम्झौतामा हस्ताक्षर गरिएको हो। कार्यक्रममा नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्सको पनि उपस्थिति रहेको थियो।

सो सम्झौतापछि रोजगारी तथा व्यापारका लागि एक देशको नागरिकले अर्को देशमा बसेर आर्जन गरेको सम्पत्ति सोही देशमा मात्रै कर तिर्दा हुने व्यवस्था गरिएको छ।

एउटा देशमा मात्रै कर तिर्ने व्यवस्था गरे लगानीकर्तालाई उचित वातावरण हुने भएपछि दुवै मुलुकले दोहोरो कर तिर्न नपर्ने गरी सम्झौता गरेका हुन्। यसबाट दुवै मुलुकलाई फाईदा पुग्ने राजस्व सचिव घिमिरले बताए। उनले दुवै मुलुकबाट लगानीका लागि वातावरण बनाउन पनि सो सम्झौताले सघाउ पुर्याउने विश्वास पनि व्यक्त गरे।

पछिल्लो समय बंगलादेशबाट पनि नेपालमा लगानी गर्न चाहाने कम्पनीहरु भित्रिएका छन्। लगानी लिएर आउने यस्ता कम्पनीहरुलाई सो सम्झौताले आत्मबल बढाउने सरकारको अपेक्षा छ।

बंगलादेशसँग दोहोरो कर उन्मुक्ति सम्बन्धि सम्झौता गर्ने तयारी सरकारले २०७१ सालमै गरेको थियो। नेपालले सो सम्झौता भारत, चीन, नर्वे, श्रीलंका, पाकिस्तान, दक्षिण कोरिया, थाईल्याण्डमा यस अघि नै गरिसकेको छ। जापान, अमेरिका, सिंगापुर लगायतका मुलुकमा पनि सो सम्बन्धि दुई पक्षीय सम्झौता गर्ने विषयमा छलफल भईरहेको राजस्व सचिव घिमिरेले बताए।