चैत २९ गतेदेखि ‘चन्द्रागिरि महोत्सव’ हुँदै

होमल्याण्ड खबर

२०७५ चैत्र २१ गते, बिहीबार १३:४१ मा प्रकाशित

यहि चैत २९ गतेदेखि बैशाख ७ गतेसम्म ‘चन्द्रागिरि महोत्सव’ हुने भएको छ ।

चन्द्रागिरि नगरपालिकाको मुख्य आयोजना र देवदर्शन मिडिया प्रालिको आयोजना तथा प्रदेश नं ३ सरकार, जिल्ला विकास समन्वय समिति काठमाडौंको सहआयोजनामा उक्त महोत्सव हुने भएको छ ।

धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको ‘चन्द्रागिरिको सर्वाङ्गीण विकास र जगेर्ना गरौँ, कला, संस्कृति र प्राकृतिक सौन्दर्यताले चन्द्रागिरिको पहिचान बढाऔँ, भन्ने मूल नाराका साथ चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारामा यो दोस्रोपटक उक्त महोत्सव हुन लागेको हो ।

नौ दिनसम्म चल्ने  साे महोत्सवमा स्थानीय कृषि उपज, घरेलु तथा हस्तकला, साना उद्योग, अटो इन्जिन, अटो मोबाइल, स्थानीय कला संस्कृति, स्थानीय काष्ठकला, स्थानीय खानाका परिकार, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा, स्वरोजगार फाराम सङ्कलनगायतका १०० बढी कक्ष रहने आयोजकले जानकारी गराएको छ ।

महोत्सवमा स्थानीय स्तरका झाँकी प्रदर्शनसहित चन्द्रागिरिको पृष्ठभूमि झल्कने होर्डिङबोर्ड, फोटो प्रदर्शनी तथा विभिन्न साँस्कृतिक कार्यक्रमहरुको आयोजना हुने बताइएको छ ।