१ मंसिर २०८१, शनिबार
नेपाली कांग्रेसका नेता एवम् नेविसंघका अध्यक्ष नैनसिंह महरले सरकार जनताका लागि नभइ माफिया र कमीशनको लागि पेट्रोलियम पदार्थको मूल्य बढाएको आरोप लाएका छन् ।
शुक्रबार बिहान राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले सरकार पूरै माफियातन्त्र र कमीशनतन्त्रबाट सञ्चालित भएको आरोप लगाएका हुन् ।
नेपाल आयल निगमले शुक्रबार रातिदेखि पेट्रोलियम पदार्थको मूल्य बढाएपछि नेता महरले सरकार प्रति यस्तो आपत्ति जनाएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने, ‘सरकारी जग्गा बेचेर नपुगेको सरकारले फेरि जनताको ढाड सेकिनेगरी पेट्रोल तथा डिजेलको मूल्य बृद्धि गरेको छ’।
‘यो कुनै हालतमा मान्य छैन । मूल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलन हुनेछ ।’
‘निगमको अहिले पाक्षिक नाफा ७ करोडभन्दा बढी छ यस्तो बेला जनतालाई राहत दिन मूल्य घटाउन छोडेर झन् मूल्य बढाइएको छ’, महरले भने, ‘सरकार आफै व्यापारी भएर कल्याणकारी बन्न सकेन । कम्युनिस्ट सरकारका प्वाँख पलाउन थालेका छन् ।’
‘बाइडबडी, ३३ किलोसुन काण्ड, बालुवाटारको जग्गा बेचेर पनि प्रधानमन्त्री र मन्त्रीहरूलाई पैसा पुगेन । पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ’, उनले भने, ‘यो जनतामारा सरकार हो ।’