२७ बैंकले एनआईसी एसियासँग गरे बैकिङ सम्बन्ध ‘बिच्छेद’

होमल्याण्ड खबर

२०७४ फाल्गुन २५ गते, शुक्रबार ०७:२९ मा प्रकाशित

२७ वटा बाणिज्य बैंकले एनआईसी एसिया बैंकसँगको बैकिङ सम्बन्ध ‘बिच्छेद’ गरेका छन् । बचत र मुद्धति निक्षेपमा ग्राहकलाई दिइने ब्याजदरमा सीमा नाघेको भन्दै बैंकर्स संघमा आवद्ध बैंकहरुले अन्तर बैंक वित्तीय कारोबार बन्द गरेका हुन् ।
बैंकर्स संघले नै एनआइसी एसिया बैंकसँग तत्काल कुनै पनि कारोबार नगर्ने निर्णय गरेको छ । एनआईसी एसियाले ब्याजदर नबढाउने प्रतिवद्धता कार्यान्वयन नगरेको भन्दै संघले यस्तो ‘एक्सन’ लिएको बुझीएको छ ।
शुक्रबार बसेको संघको आकस्मिक बैठकले एनआईसी एसियासँग कुनैपनि अन्तर बैंक कारोबार नगर्ने निर्णय गरेको अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले जानकारी दिएका छन् ।
गत शुक्रबार संघमा आवद्ध बैंकहरुले बचत खातमा ८ र एक वर्षे मुद्धतिमा ११ प्रतिशतभन्दा बढी ब्याजदर कायम नगर्ने सहमति गरेका थिए । तर, बिहीबार फेरि एनआईसी बचतको ब्याज १० प्रतिशत र मुद्धतिमा १२ प्रतिशत ब्याज दिने सूचना सार्वजनिक गरेको थियो ।
त्यसैअनुसार सूचना सार्वजनिक भएपछि बैंकर्स संघले शुक्रबार बिहान बैंकको ब्याजदर बढाउने निर्णयमाथि समीक्षा गर्न बैठक बोलाएको थियो ।
‘एनआईसी एसिया बैंकका पछिल्ला गतिविधिले बैंकिङ क्षेत्रमा सिस्टमेटिक रिस्क ल्याउने देखेकाले तत्कालका लागि इन्टर बैंक ट्रान्जेक्सन बन्द गर्ने निर्णयमा पुगेका हौं,’ अध्यक्ष ढुंगानाले भने । यस विषयमा आइतबार थप छलफल गर्ने बैंकर्स संघले जनाएको छ ।