रोबोटबाट चल्ने सिमेन्ट उद्योग सञ्चालन हुदै

होमल्याण्ड खबर

२०७४ चैत्र ४ गते, आईतवार ०८:५८ मा प्रकाशित

हेटाँैंडामा रोबोटबाट सञ्चालन हुने ठूलो सिमेन्ट उद्योगले परीक्षण उत्पादन गर्ने तयारी गरीरहेको छ । जगदम्बा र शंकर ग्रुपको संयुक्त लगानीमा निर्माण भइरहेको रिद्धिसिद्धि सिमेन्ट उद्योग प्रालि निर्माणको अन्तिमचरणमा पुगेको हो । दैनिक ५० केजी तौलको ५६ हजार बोरा सिमेन्ट उत्पादन गर्नसक्ने क्षमता भएको उद्योगमा सिमेन्ट उत्पादनका लागि उपकरण सञ्चालनमा रोबोट प्रयोग हुने उद्योगका परियोजना प्रमुख राजेश पिलाइ बताए ।
उनकाअनुसार उद्योगको व्यवस्थापकदेखि बजार व्यवस्थापन र पिएनसम्म गरेर जम्मा तीनसय जनशक्ति लाग्नेछ । उत्पादनको अनुपातमा जनशक्ति एकदमै कम भएको र यो उद्योग प्रविधिको हिसाबले हेर्दा नेपालकै पहिलोे परियोजना भएको उनले बताए ।
उद्योगबाट धुलो बाहिर जान नदिनका लागि अत्याधुनिक उपकरण जडान गरिएकाले वातावरणमा प्रतिकूल असर नपार्ने प्रमुख पिलाइ बताए । रिद्धिसिद्धि सिमेन्टले मकवानपुरको राक्सिराङ र निबुवाटारको चुनढुंगा खानीबाट कच्चापदार्थ आर्पूति गर्नेछ । यसबाहेक चितवनको शक्तिखोरमा रहेको खानीबाट पनि चुनढुंगा आर्पूति गरिने भएको छ । उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउँदा दैनिक १५ मेघावाट विद्युत् खपत गर्ने छ । यसका लागि प्राधिकरणले विद्युत् उपलब्ध गराउने प्रक्रिया जारी रहेको बताइएको छ । अम्बे र शंकर ग्रुपको लगानीमा मिर्चैयामा पनि रिद्धिसिद्धि भन्दा ठूलो उद्योग स्थापना भइरहेको छ ।