यूटीएल र स्मार्ट टेलिकम कारवाहीमा

होमल्याण्ड खबर

२०७४ चैत्र ५ गते, सोमबार ०६:१९ मा प्रकाशित

युनिफाइड लाइसेन्स लिएर पनि तोकिएअनुरुप सेवा विस्तार गर्न नसकेपछि यूटीएल र स्मार्ट सेललाई प्राधिकरणल कारवाही गरेको छ
नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्स लिँदा पेश गरेको रोलआउट प्लानअनुरुप सेवा विस्तार गर्न नसकेको भन्दै यूटीएल र स्मार्ट टेलिकमलाई ५–५ लाख रुपैयाँ जरिवाना गराएको छ ।
युटीएलले लाइसेन्स पाएको लामो समयसम्म पनि सेवा विस्तार गर्न नसकेपछि कारवाही गरिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
दूरसञ्चार ऐनमा उल्लेखित व्यवस्थाअनुरुप यूटीएललाई जरिवाना गराउने गरी पत्राचार गरिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।
युटिएलललाई प्राधिकरणले २०७३ को भदौ २०मा युनिफाइड लाइसेन्स दिएको थियो । उसले लाइसेन्स लिएको एक वर्षभित्रै ४४ जिल्लामा सेवा विस्तार गर्ने बताएको थियो । उसको स्वीकृत योजनाअनुसार यतिबेला ५४ जिल्लामा सेवा पुग्नुपर्ने थियो । तर, उसले जीएसएम मोबाइलसहित युनिफाइड सेवाका लागि तयारीसम्म पनि नगरेपछि कम्पनीलाई प्राधिकरणले ६ महिनाभित्र ५४ वटै जिल्लामा सेवा र्पुयाईसक्न निर्देशन दिएको छ ।
कारवाहीमा परेको स्मार्ट सेलले पनि गत भदौसम्म निर्धारित ९ जिल्लामा मात्र सेवा विस्तार गरेपछि कारवाही गरिएको हो । उसलाई ६ महिनाभित्र तोकिएका जिल्लामा सेवा विस्तार गर्न भनिएको छ ।