काठमाडौं महानगरले तोक्यो सवारी पार्किङ शुल्क

होमल्याण्ड खबर

२०७६ असार १२ गते, बिहीबार १२:३७ मा प्रकाशित

काठमाडौं महानगरपालिकाले सवारी साधनको पार्किङ शुल्क निर्धारण गरेको छ । महानगरको नगरसभाको ५ औं अधिवेशनले २०७६र०७७ को बजेटमा सवारी साधनको पार्किङ शुल्क निर्धारण गरेको हो। न्युरोड, धर्मपथ, कान्तिपथ, दरवारमार्ग लगायतका भित्री सहरी क्षेत्रमा सवारी साधन पार्किङ गरे बापत प्रतिघण्टा दुई पाङ्ग्रेका लागि २५ रूपैयाँ र चार पाङ्ग्रेका लागि ८० रूपैयाँ लाग्ने छ । त्यस्तै त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल, लैनचौरसम्को काठमाडौं मध्ये भागका सार्वजनिक बाटो लगायत तोकिएका स्थानहरूमा पनि सोही शुल्क लाग्ने महानगरले प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।

प्रस्तुत बजेट अनुसार महानगर क्षेत्रभित्रका सार्वजनिक बाटो लगायत तोकिएका स्थानहरूमा सवारी साधन पार्किङ गरे बापत प्रति घण्टा दुई पाङ्ग्रेका लागि १५ रूपैयाँ, चार पाङ्ग्रेका लागि ४० रूपैयाँ र चार पाङ्ग्रेभन्दा माथिका लागि १ सय रूपैयाँ लाग्ने छ । निजी क्षेत्रबाट निजी घर, जग्गामा काठमाडौं महानगरबाट अनुमति लिई व्यवसाय दर्ता गरी सःशुल्क सवारी पार्किङ व्यवसाय समेत सञ्चालन गर्न सकिने महानगरले व्यवस्था गरेको छ ।

लिफ्ट वा आधुनिक प्रविधि प्रयोग गरी एकै स्थानमा धेरै सवारी साधन पार्किङ गर्ने गरी सञ्चालन गरिने व्यवसायीलाई भने उक्त व्यवसाय करमा पाँच वर्षसम्म सत प्रतिशत छुट प्रदान गर्नेछ। काठमाडौं महानगरले आफै वा निजी क्षेत्रको सहयोगमा आधुनिक प्रविधियुक्त पार्किङको व्यवस्था गर्नेछ। निजी क्षेत्रबाट निमार्ण गर्ने लाई प्रोत्साहित गर्नेछ । यसरी गरिएको पार्किङमा लाग्ने दररेट महानगर र सम्बन्धित संस्थाको सहमतिमा निर्धारण गरी लागू गरिनेछ ।