२८ फाल्गुन २०८२, बिहीबार
प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार राहत कोषमा २ संस्थाले २५ लाख रुपैंयाँ हस्तान्तरण गरेका छन् ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले १० लाख र व्यापारिक समुह केडिया ग्रुपले १५ लाख रुपैंयाँ हस्तान्तरण गरेका हुन् ।


राहत रकमको चेक बुझ्दै प्रधानमन्त्री ओलीले बाढी पहिरोको चपेटामा परेका जनतालाई सहयोग गर्नका लागि रकम हस्तान्तरण गरेकोमा ट्रेड युनियन र केडिया ग्रुपलाई धन्यवाद ज्ञापन गरे ।
‘प्राकृतिक विपत्तीमा परेका जनताहरुलाई तपाईंहरुले दिएको रकमले उद्धार र राहातमा ठुलो सहयोग पुग्दछ’, प्रधानमन्त्री ओलीले भने, ‘मानवीय सहयोगको यस कार्यका लागि तपाईंहरुलाई हार्दिक धन्यवाद छ ।’
प्रधानमन्त्री ओलीले सरकार सुशासन र विकासका निम्ती प्रतिवद्ध रहेको उल्लेख गरेका छन् । सरकारको यस अभियानलाई साथ दिन कर्मचरीहरुलाई प्रधानमन्त्रीले आग्रह पनि गरेका छन् ।‘सरकारका हात खुट्टा भनेका कर्मचारी नै हुन्’ प्रधानमन्त्री ओलीले भने, ‘त्यस कारण कर्मचारीहरु सेवामुखी भए भने जनतामा सरकारप्रतिको सकारात्मक सन्देश पनि जान्छ ।’