३३ किलो सुनकाण्डको मुद्दामा सुनुवाई जारी

होमल्याण्ड खबर

२०७६ श्रावण ९ गते, बिहीबार १६:१५ मा प्रकाशित

३३ किलो सुन तस्करी प्रकरणसँग जोडिएको मुद्दामा अहिले सर्वोच्च अदालतमा सुनुवाई भइरहेको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुष्मलता माथेमाको इजलाशमा अपराधिक समूह स्थापना सञ्चालन गरी सुन चोरी पैठारी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्‍य ज्यान मुद्दामा सुनुवाई जारी छ ।

सोही प्रकरणसँग जोडिएर मोरङ उर्लाबारीका सनम शाक्यको हत्यासमेत भएको थियो । सो प्रकरणसँग जोडिएर सर्वोच्च अदालतमा ३१ थान मुद्दा दर्ता भएका थिए । ती सबै मुद्दालाई साथै राखेर सुनुवाई गर्नेगरी गत असार ५ गते न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले आदेश गरेको थियो । अहिले ती सबै मुद्दालाईसँगै राखेर सुनुवाई भइरहेको छ ।

३३ किलो सुन काण्डमा मुछिएका अभियुक्तहरूले जिल्ला अदालत र पुनरावेदन अदालतको आदेशविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेका हुन् । यसरी पुनरावेदन गर्नेहरुमा सो प्रकरणमा मुछिएका सञ्जयबहादुर राउत, महावीरप्रसाद गोल्यान, तुलाराम थारु, रामकुमार तिवारी, राजन थापा, हेमन्त गौतम, सम्विरप्रसाद तोलाङ्गे, संजीव शाक्य, मदन सिलवाल, बालकृष्ण श्रेष्ठ, गोपालकुमार श्रेष्ठ, अमरमान डंगोल, मदनप्रसाद घिमिरे, राजकुमार दारुका, लाक्पा शेर्पा, श्यामबहादुर खत्री, राजेन्द्रकुमार शाक्य, बिमल पोद्वार, ईम्तियाज उद्दिन, प्रभात अग्रवाल, पुण्यप्रसाद लामा तामाङ, शैयद अकवर साह, राजु महर्जन, छिरिङ वांगेल घले, भुजुङ गुरुङ, दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठ र कपिलराज पुरी  छन् ।