१४ मंसिर २०८१, शुक्रबार
नेपाल भ्रमण वर्ष २०२० को प्रचारका लागि नेपाल पर्यटन बोर्डका प्रतिनिधि सिङ्गापुर पुगेका छन् । नेसनल एसोसिएसन अफ ट्राभल एजेन्ट्स सिङ्गापुरद्वारा यही अगस्ट २ देखि ४ तारिखसम्म सिङ्गापुरमा आयोजित नाटाज होलिडे २०१९ मा नेपालको प्रतिनिधित्व गर्दै बोर्ड टोली सिङ्गापुर गएको हो ।
उक्त कार्यक्रममा १०६ वटा कम्पनीहरुले ९०८ वटा स्टलमा विभिन्न सामग्रीको प्रदर्शनी गरेका छन् । हवाई तथा पानीजहाज कम्पनी, होटल र रिसोर्ट, ट्राभल एजेन्सी तथा ट्राभलसँग सम्बन्धित कम्पनी र नेपाल पर्यटन बोर्डलगायत १४ वटा राष्ट्रिय पर्यटन संस्थाहरुले कार्यक्रममा सहभागिता जनाएका थिए । नेपालको स्टलमा विभिन्न नेपाली पर्यटन गन्तव्य, स्थानीय उत्पादन, ट्राभल एण्ड टुर प्याकेज र पर्यटन गतिविधिहरुको बारेमा अडियो भिडियोमार्फत सहभागीलाई जानकारी गराएको र प्रदर्शनीमा सहभागी विभिन्न देशका प्रतिनिधिहरुलाई नेपालको पर्यटनसम्बन्धी आवश्यक जानकारी गराइएको थियो ।