नबिल बैंकद्वारा ‘नबिल सजिलो एक्सप्रेस कर्जा’, ३५ घण्टामै ७५ लाखसम्म लोन

होमल्याण्ड खबर

२०७६ पुष ७ गते, सोमबार १६:०७ मा प्रकाशित

नबिल बैंकले साना तथा मझौला उद्यमी कर्जाको नयाँ प्रस्तुतिका रुपमा ‘नबिल सजिलो एक्सप्रेस कर्जा योजना’ जारी गरेको छ ।

कर्जा सम्बन्धी निर्णय प्रकृयालाई गति दिँदै जोखिममा आधारित मूल्यांकन सहित क्रेडिट स्कोरिङ मोडल कर्जा अंकन ढाचाका आधारमा यो योजना आरम्भ गरिएको हो । सरल र शीघ्र प्रशोधनसहित अधिकतम १०.५ प्रतिशतको ब्याजदरमा यो कर्जा उपलब्ध हुनेछ ।

सोमबार राजधानीमा योजना सार्वजनिक गर्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिलकेशरी शाहले बैंकको नयाँ योजना कोसेढुंगा सावित हुने बताए ।

‘बैंकले ३५ वर्षको व्यावसायिक इतिहासमा कहिल्यै पछि पर्नु परेन र अब पनि त्यस्तो स्थिति आउन नदिन हामी प्रतिबद्ध छौं,’ उनले भने, ‘हालसम्म नेपालका ठूला कर्पोरेट हाउस बैंकका ग्राहक थिए, सबैभन्दा ठूलो(ठूलो निक्षेपका लागि नबिल बैंक नै रोजिन्थ्यो, त्यसलाई पनि कायम राख्दै हामी एसएमईमा छलाङ मार्दै छौं ।’

त्यस्तै, सिइओ शाहले भने ‘कर्जा बढाउने योजनासँगै निक्षेप वृद्धि गर्नुपर्ने चुनौतीलाई आत्मसात गर्दै हामी यसै आवभित्रै थप ४० शाखा स्थापना गर्दै छौं ।’ उनले थपे, ‘सेभिङ्समा भ्यागुत्ते छलाङ मार्ने तयारी छ ।’ हाल देशभर नबिल बैंकका ६६ शाखा छन् ।

बैंकले एसएमई प्रवाहमा रफ्तार बढाउन बेलायती सहयोग नियोग यूके एडको कार्यक्रम सक्षम एक्सेस टु फाइनान्ससँग सहकार्य गरेको छ । ‘एसएमई हबमा नयाँ काम, नयाँ किसिमले गर्न सक्षमसँग सहकार्य गरेका हौं,’ बैंकका सिइओ शाहले भने, ‘यो सहयोग छिटोभन्दा छिटो कर्जा स्वीकृत हुन प्रभावकारी हुनेमा म विश्वस्त छु ।’

बैंकले आज सार्वजनिक गरेको नयाँ योजना ‘नबिल सजिलो एक्सप्रेस कर्जा’ अनुसार कागजात बुझाएको ३५ घण्टामै स्वीकृत गर्ने जनाएको छ । शाह भन्छ्न, सम्भवत यो नेपालकै पहिलो योजना हो ३५ घण्टामै लोन स्वीकृत गर्ने प्रणाली ।

एसएमईमा योजना अघि बढाउनुको उद्देश्यको प्रकाश पार्दै उनी भन्छन्, ‘नेपालमा उत्पादित हस्तकलादेखि कृषिउपज स्याउ, सुन्तलासम्म विदेशका ठूला ठूला होटलमा किनेर खान पाइयोस्, अनिल शाह यो चाहन्छ ।’

साना तथा मझौला उद्यमको विकासका निम्ति नबिल बैंक र युकेएइड सक्षम एक्सेस टु फाइन्यान्स् मिलेर सहकार्य गरिरहेका छन् । यसैको परिणामस्वरुप नबिल सजिलो कर्जा र नबिल नारी कर्जा योजना ल्याइएको हो ।

यी साना तथा मझौला कर्जा योजनाको सफलतापछि नबिल बैंकले नबिल सजिलो कर्जाकै स्तरोन्नतिका रुपमा नबिल सजिलो एक्सप्रेस कर्जा योजना सार्वजनिक गरेको छ । क्रेडिट स्कोरिङ विधिको प्रयोग गर्दै कर्जा स्वीकृत गर्ने तथा ब्याज दर तोक्ने नबिल बैंक पहिलो बैंक बन्न पुगेको छ ।

यसबाट साना तथा मझौला उद्यमका ग्राहकका लागि ७५ लाख रुपैयाँ सम्मको कर्जा प्रतिष्पर्धी ब्याजदरमा उपलब्ध गराइनेछ । ऋणीको कर्जा आवेदनमा शीघ्र निर्णय लिँदै आवेदन प्राप्त भएको ३५ घण्टाभित्र स्वीकृति प्रदान गर्ने उद्देश्यले यो योजना जारी गरिएको हो ।

नबिल सजिलो एक्सप्रेस कर्जा योजना निशुल्क कारोबार सूचना, निशुल्क मासिक विद्युतीय बैकिङ विवरण, व्यवसायको मुख्य मानिसलाई निशुल्क क्रेडिटकार्ड हस्तान्तरणका साथै ३५ घण्टाभित्र निर्णय दिइसकिने आकर्षक प्याकेजका साथ आएको छ ।

नबिल बैँकले आफ्नो देशभर ९३ वटा शाखा कार्यालयहरु, १४२ एटीएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका ऐजेन्टको बृहत सन्जाल मार्फत निरनतर गुणस्तरिय सेवा प्रवाह गरिरहेको छ ।