सुन प्रतितोला ७६ हजार पुग्यो

होमल्याण्ड खबर

२०७६ पुष २१ गते, सोमबार १४:२० मा प्रकाशित

नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च पुगेको छ । शुक्रबार प्रतितोला ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार प्रतितोला हजार रुपैयाँले बढ्दै उच्च मूल्य भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँ तथा चाँदी २० रुपैयाँले बढ्दै अहिलेसम्मकै उच्च रहेको छ ।

हिजो नेपाली बजारमा ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ५ सय रुपैयाँले बढ्दै ७६ हजार रुपैयाँ कायम भएको छ । यस्तै आज तेजाबी सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँ कायम छ । हिजो (आइतबार) भने तेजाबी सुन प्रतितोला प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । गएको बिहिबारदेखि बजारमा सुन दैनिक हजार रुपैयाँका दरले मूल्यवृद्धि हुँदै आएको छ ।  इरान र अमेरिकाबीचको तनावको असरले सुनको मूल्य बढेको महासंघले जनाएको छ ।

सुनको मूल्य बढिरहँदा आइतबार स्थिर रहेको चाँदीको भाउ आज सोमबार भने प्रतितोला २० रुपैयाँले बढेर कारोबार भइरहेको महासंघले जनाएको छ । गत बिहीबार प्रतितोला ८९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला ९ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार पनि ९ सय रुपैयाँमै कारोबार भएको चाँदी आज (सोमबार) प्रतितोला २० रुपैयाँले बढ्दै ९ सय २० रुपैयाँ पुगेको छ ।