लमजुङको चिनारी कृषि फार्ममा आगलागी, डेढ करोडभन्दा बढीको क्षति

होमल्याण्ड खबर

२०७६ पुष २३ गते, बुधबार १४:४१ मा प्रकाशित

लमजुङको मध्यनेपाल नगरपालिका–१ जिता देउरालीमा रहेको चिनारी कृषि फार्ममा विद्युत् सर्ट भएर आगलागी हुँदा डेढ करोडभन्दा बढीको क्षति भएको छ । फार्ममा रहेको ५० बाख्रा र एक सय लोकल कुखुरा जलेर नष्ट भएको छ ।

मंगलबार साँझ पौने ७ बजे अचानक विद्युत् सर्ट भएपछि फार्ममा आगलागी भएको हो ।फार्ममा एक सय ७० बाख्रा र तीन सय लोकल कुखुरा थिए । आगलागी हुँदा बाख्राका दुईवटा आधुनिक खोर र गोदाम घर जलेर नष्ट भएको छ । आगलागीबाट करिब डेढ करोड बढी क्षति भएको छ ।

२०७२ सालबाट ६० वटा बाख्रा र ५० वटा लोकल कुखुराबाट डेढ सय रोपनी जग्गामा चिनारी कृषि फार्म सञ्चालन गरिएको थियो । ४ करोड लगानीबाट सुरु गरिएको फार्ममा हाल पाँच करोड लगानी पुगेको थियो ।