निगमले फागुन १९ देखि नारिता उडान गर्ने, दुईतर्फी भाडा ८० हजार

होमल्याण्ड खबर

२०७६ माघ ७ गते, मंगलवार १४:२६ मा प्रकाशित

नेपाल वायुसेवा निगमले आगामी फागुन १९ देखि जापानको नारिता उडान गर्ने भएको छ । निगमले यसअघि जापानकै ओसाका उडान गर्दै आएको छ । निगमले काठमाडौं-नारिताको दुईतर्फी भाडा न्यूनतम ८० हजार रुपैयाँ तोकेको छ । निगम सहप्रवक्ता अर्चना खड्काका अनुसार यो न्यूनतम मूल्य हो, पछि बढ्दै जान सक्छ । विजनेश क्लासको भाडा दर दुई लाख ६ हजार तोकिएको छ ।

“नारिता साताको तीन दिन उडान हुनेछ । नारिता उडानको सबै प्रक्रिया पुरा भइसक्यो,” उनले भनिन्, “अब ओसाका उडान रद्द हुनेछ । उनले ओसाका फेब्रुअरी अन्तिमसम्म मात्रै उडान हुने पनि जानकारी दिइन् ।

निगमले नारिता उडानका लागि जापान सिभिल एभिएसन ब्युरोसँग ग्राउण्ड ह्यान्डलिङको सम्झौता गरिसकेको छ । निगमले कन्ट्री म्यानेजरका रूपमा सुलेख मिश्रलाई गत महिना नियुक्त गरेको थियो ।

निगमले सुरुमा नारिता उडान गर्ने भने पनि ओसाका उडान सुरु गरेको थियो । ओसाका जापानको सदरमुकाम टोकियोभन्दा धेरै पर छ भने नारिता नजिक । नेपालीहरुका लागि नारिता सहज हुने छ ।

लामो दूरीमा हवाई सेवा दिने उद्देश्यले निगमले वाइड बडी विमान ल्याए पनि हाल छोटा दूरीमा नै सञ्‍चालन हुँदै आएको छ । जसका कारण निगमले अपेक्षा गरे अनुसार आयआर्जन गर्न सकिरहेको छैन । नारिता उडान सुरु भएपछि व्यापारमा पनि वृद्धि आउने अपेक्षा निगमको छ ।