९ मंसिर २०८१, आईतवार
नेपाल राष्ट्र बैंकले नेपाल बंगलादेश बैंक (एनबी बैंक) लाई ४ करोड रुपैयाँ जरिवाना गरेको छ ।
राष्ट्र बैंकले एनबी बैंकलाई कृषि क्षेत्रमा तोकिएको लगानी गर्न नसकेको भन्दै ४ करोड रुपैयाँ जरिवाना हो ।
२७ वाणिज्य बैंकमध्ये तोकिएको क्षेत्रमा कर्जा नपुगेको भन्दै कारबाहीमा पर्ने बैंक एनबी मात्र हो ।
राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा कुल कर्जाको २५ प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था छ । जसमध्ये १० प्रतिशत कर्जा लगानी कृषि क्षेत्रमा अनिवार्य हुनुपर्ने छ । गत वर्ष एनबी बैंकले ९ प्रतिशत पनि पुर्याउन नसकेको राष्ट्र बैंकले बताएको छ ।
बैंकले गत वर्ष ऊर्जा र पर्यटनमा तोकिएको कर्जा पुगे पनि कृषिमा कुल कर्जाको ८.५२ प्रतिशत मात्र कर्जा लगानी भएको थियो ।
राष्ट्र बैंकले कुनै बैंकले तोकिएको क्षेत्रमा कर्जा लगानी नगरे लगानी नभएको कर्जाको ब्याज बराबर जरिवाना गर्ने गरेको छ । सोहि अनुसार राष्ट्र बैंकले ४ करोड जरिवाना गरेको हो ।
तर एनबी बैंकले भने गत आर्थिक वर्षमा कृषिमा मात्रै थोरै रकम नपुगेको जनाउँदै अन्य प्राथमिकताप्राप्त क्षेत्रमा भने राष्ट्र बैंकले तोकिए अनुसारको लगानी भएको बताएको छ । यसपाली भने कृषिमा पनि तोकिएको लगानी पुग्ने एनबी बैंकको दाबी छ ।