अब नेपाल निम्नमध्यम आय भएको देशमा स्तरोन्नति

होमल्याण्ड खबर

२०७७ असार १९ गते, शुक्रबार १५:४२ मा प्रकाशित

नेपाल मध्यम आय भएको मुलुक बनेको छ । विश्व बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालीको प्रतिव्यक्ति आय १ सय ३० डलरले बढेर १ हजार ९० डलर पुगेको छ । गत वर्षको जुलाइ १ तारिखको भन्दा १ सय ३० डलर बढी हो । सन् २०१९ मा नेपालीको प्रतिव्यक्ति आय ९ सय ६० अमेरिकी डलर थियो ।

योसँगै नेपाल निम्नआय भएको मुलुकबाट निम्नमध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व बैंकले १० देशको सूची सार्वजनिक गरेकोमा नेपाल स्तरोन्नति भएकाहरूको सूचीमा परेको हो । विश्व बैंकको वर्गीकरणअनुसारमा १ हजार ३६ डलरभन्दा बढी प्रतिव्यक्ति आय भएका देश निम्नमध्यम आय वर्गमा पर्छन् ।

विश्व बैंकका अनुसार नेपालसहित तान्जिनिया र बेनिन यो वर्गमा उक्लिएका छन् । अल्जेरिया, सुडान र श्रीलंकको वर्ग भने खस्किएको छ । अल्जेरिया र श्रीलंका निम्नमध्यम आय भएको मुलुकमा झरेका छन् ।

इन्डोनेसिया भने उच्च मध्यम आय भएको मुलुक बनेको छ । यसैगरी मरिसस, नाउरु र रोमानिया उच्च आय भएको मुलुकमा उक्लिएको छ । सुडान निम्न मध्यमबाट निम्न आय भएको मुलुक बनेको छ । विश्व बैंकले संसारभरका देशहरुलाई उच्च, उच्चमध्यम, निम्नमध्यम र निम्न आय भएको मुलुकमा वर्गीकरण गर्दै आएको छ ।