‘विद्युत् महशुलमा ५० प्रतिशत छुट गरियोस्’

होमल्याण्ड खबर

२०७७ श्रावण १० गते, शनिबार १०:५१ मा प्रकाशित

काठमाडौं । पर्यटन व्यवसायीले विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न उर्जामन्त्रीसँग माग गरेका छन् । कोभिड–१९ पर्यटन व्यवसाय विपद् समन्वय समितिले शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भेटेर विद्युत् महशुलमा छुट गर्न माग गरेका हुन् । पर्यटन व्यवसाय बन्द रहेको अवस्थामा पनि ‘डिमाण्ड शुल्क’ वापत ठूलो रकम विद्युत् प्राधिकरणलाई तिनुपर्दा व्यवसायी मारमा परेको भन्दै शुल्क मिनाह गर्न माग गरिएकाे हाे ।

विपद् समन्वय समितिका संयोजक एवं ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्मा ढुंगानाले बन्दाबन्दीका कारण ठमेलका व्यवसाय बन्द रहेको अवस्थामा विद्युत् युनिट उठेको आधारमा बन्दाबन्दी शुरु भएको मितिदेखि कम्तीमा दुई वर्षसम्म ५० प्रतिशत छुट दिन मन्त्रीसमक्ष आग्रह गरिएको जानकारी दिनुभयो ।

र्जामन्त्रीसँगको भेटमा ठमेल पर्यटन विकास परिषद्, ट्रेकिङ एजेन्सिज एशेसिएशन अफ नेपाल (टान) नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा), नेपाल पर्वतारोहण संघ (एनएमए), होटल एशोसिएशन अफ नेपाल (हान), टुरिष्ट बस एशोसिएन अफ नेपाल (टिवान), नेपाल एशोसिएएन अफ र्याफ्टिङ एजेन्सिज (नारा), गाउँ पर्यटन प्रर्वद्दन मञ्च (भिटोफ), नेपाल कैलाश यात्रा संघलगायत दुई दर्जन संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

पर्यटन व्यवसायीहरुलाई ऊर्जामन्त्री पुनले बन्दाबन्दीका कारण मुलुकको हरेक क्षेत्रमा समस्यामा परेको भन्दै समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन सरकारका तर्फबाट गरिनुपर्ने कुनै कसरत बाँकी नराख्ने उल्लेख गर्नुभयो । मन्त्री पुनले पर्यटन क्षेत्रलाई विद्युत् क्षेत्रमा दिने सहुलियतका बारेमा आफूले सम्बन्धित निकायसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।