१३ मंसिर २०८१, बिहीबार
काठमाडौं । नेपाली बजारमा आइतबार तोलामा पाँच सय रुपैयाँले बढेर सुनको मूल्यले फेरि अर्काे रेकर्ड बनाएको छ । शुक्रबार कायम गरेको मूल्यको रेकर्ड आइतबार तोडिएको हो ।
आइतबार छापावाला सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य नेपाली बजारको हालसम्मकै उच्च मूल्य हो ।
शुक्रबार भने छापावाला सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा किनबेच भएर रेकर्ड बनाएको थियो । अन्तर्राष्ट्रिय बजारमा आर्थिक मन्दी छाएपछि सुनतर्फ लगानीकर्ता आकर्षित बन्दा नेपाली बजारमा सुनको भाउ आकाशिएको विष्लेषकहरुको अनुमान छ ।
आइतबार तेजावी सुन प्रतितोला ९५ हजार ८ सय ६० रुपैयाँमा किनबेच भएको छ । यस्तै चाँदीको मूल्यले पनि आइतबार रेकर्ड बनाएको छ । चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार एक सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम हुँदै गएपछि बजार कारोबार भने ठप्प भएको व्यवसायीहरुले बताएका छन् ।