सुनको मूल्यमा नयाँ रेकर्ड, लाख नाघ्ने सम्भावना

होमल्याण्ड खबर

२०७७ श्रावण १३ गते, मंगलवार ११:५० मा प्रकाशित

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेर एक लाख नजिक पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यले नयाँ रेकर्ड कायम गरेसँगै नेपाली बजारमा सुनको मूल्यले सोमबारको रेकर्ड तोडेको हो ।

मंगलबार छापावाला सुन प्रतितोला ९८ हजार दुई सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो नेपाली बजारको हालसम्मकै उच्च मूल्य हो ।

सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेको हो । सोमबार छापावाला सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएर रेकर्ड बनाएको थियो । मंगलबार तेजावी सुन प्रतितोला ९७ हजार ७ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १२ सय ४५ रुपैयाँमा रेकर्ड बनाएको छ । कोरोना महामारीपछि अन्तर्राष्ट्रिय बजारमा शेयरको मूल्य घट्नु, लगानीका अन्य क्षेत्र प्रभावित बनेर आर्थिक मन्दी छाएसँगै सुनप्रति लगानीकर्ता आकर्षित बन्दा सुनको मूल्यले रेकर्ड बनाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ४४ डलर हाराहारीमा किनबेच भइरहेको छ । अहिलेको अवस्था हेर्दा सुनको भाउ तोलाको एक लाख रुपैयाँ नाघ्ने सम्भावना देखिएको व्यवसायीहरुले बताएका छन् । दैनिकरुपमा सुनको मूल्यले रेकर्ड बनाउँदै गएपछि बजार कारोबार भने ठप्प बनेको छ । सुन किन्नेभन्दा बेच्नेहरु बढी देखिन थालेपछि बजार कारोबार झन् प्रभावित बनेको छ ।