१३ मंसिर २०८१, बिहीबार
तनहुँ । जिल्लामा गण्डकी प्रदेशकै ठूलो सभाहल निर्माणको काम अन्तिम चरणमा पुग्न लागेको छ । सदरमुकाम दमौलीमा निर्माण गरिएको करिब ७ सय ५० जना क्षमताको भवनको ६५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ ।
२०७७ असार १३ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि कोभिड–१९ का कारण सरकारले गरेको बन्दाबन्दीको घोषणापछि निर्माण कार्य प्रभावित बनेको थियो । ‘तनहुँ सभाहल’ नाम राखिएको भवन निर्माणमा सरकार र विदेशी दाताको संयुक्त कोष छ । २३ करोड ६२ लाख ४३ हजार ३ सय ३१ रुपैयाँ लागतमा निर्माणाधीन भवनको निर्माणको काम श्री डाँफे एमए प्रतिष्ठा जेभी काठमाडौंले गरिरहेको छ ।
व्यास नगरपालिकाको वडानम्बर ३ बिपी वन बाटिकामा निर्माणाधीन सभा हलको करिब ३५ प्रतिशत काम सम्पन्न गर्न बाँकी रहेको श्री डाँफे एमए प्रतिष्ठा जेभीका साइड सुपरभाइजर गौतम घिमिरेले जानकारी दिनुभयो । करिब ६ हजार ५ सय वर्ग फिट क्षेत्रफलमा २ ब्लकमा गरी भवन निर्माण गरिएको छ ।
भवनको भुइँतलामा सवारी पार्किङ, दोस्रो तलामा स्टेज, तेस्रोमा सेमिनार हल र चौथोमा अतिथिका लागि कपडा परिवर्तन तथा आराम कक्ष हुनेछन् । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय गोरखाको आर्थिक सहयोगमा भवन निर्माण अघि बढाइएको हो । भवनमा प्लम्बिङ, बिजुली र पानी जडानका साथै फिनिसिङलगायतका काम बाँकी रहेको बताइएको छ ।
बन्दाबन्दी खुलेसँगै सभा हल निर्माण कार्य फेरि शुरु गरिएको छ । अहिले १४ कामदार परिचालन गरी तीव्र गतिमा निर्माणको काम भइरहेको बताइएको छ ।