१३ मंसिर २०८१, बिहीबार
काठमाडौं।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोभिड–१९ सङ्क्रमणको व्यवस्थापन गर्न ४ सय १२ स्थानीय तहलाई ४३ करोडभन्दा बढी रकम निकासा गरेको छ ।
मन्त्रालयको आर्थिक वर्ष २०७६–०७७ मा मन्त्रालयबाट उत्पादित प्रमुख कार्य तथा उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ सङ्क्रमणको व्यवस्थापन गर्न ४१२ स्थानीय तहलाई ४३ करोड ६४ लाख ५३ हजार २७५ तथा २० स्थानीय तहमा होल्डिङ सेन्टर व्यवस्थापनका लागि दुई करोड ७७ लाख २३ हजार निकासा भएको जानकारी दिएको हो ।
कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि स्थानीय तहले स्थापना गरी सञ्चालनमा रहेका क्वारेन्टिन निर्धारित मापदण्ड बमोजिम थप व्यवस्थित, क्वारेन्टिनमा बसेका व्यक्तिको बसोबास बन्दोबस्त गर्न र खानपिन व्यवस्था मिलाउने प्रयोजनका लागि सो रकम निकासा गरिएको हो ।
समायोजन ऐन, २०७५ बमोजिम सङ्घ, प्रदेश र स्थानीय तहको करिब एकलाख ३८ हजार दरबन्दीमा समायोजन भएका कर्मचारीमध्ये केही कर्मचारीले अन्तर स्थानीय तह, अन्तर प्रदेश वा सङ्घबाट प्रदेश वा स्थानीय तहमा जाने गरी निवेदन, उजुरी र गुनासोलाई मन्त्रालयले सम्बोधन गर्दै आएको जनाएको छ ।
मन्त्रालयका मन्त्री हृदयश त्रिपाठीले कर्मचारीकै सहमतिमा समायोजनको प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै सङ्घले प्रदेश र स्थानीय तहलाई कुनै पनि प्रकारको हस्तक्षेप नगरेको बताए। उनले निजामती सेवा विधेयक पारित भएपछि प्रदेश र स्थानीय तहमा जनशक्ति व्यवस्थापनमा सहज हुने बताए।