सुनको मूल्य घटेको घट्यै, खरिदभन्दा बिक्री चाप बढी

होमल्याण्ड खबर

२०७७ फाल्गुन २१ गते, शुक्रबार १२:३२ मा प्रकाशित

साप्ताहिक कारोबारको अन्तिम दिन आज (शुक्रबार) पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार पनि सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ ।

शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलाको ८५ हजार ६ सय रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य ८५ हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।

यो हप्ताको पहिलो कारोबार दिन (फागुन १६ गते, आइतबार) नै सुनको मूल्य घटेको थियो । पछिल्ला २ दिन बिहीबार र शुक्रबार पनि सुनको मूल्य तोलामा दैनिक हजार रुपैयाँले घटेको छ ।

यो हप्ताभर नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँले घटेको छ । अघिल्लो हप्ताको अन्तिम कारोबार दिन (फागुन १४ गते, शुक्रबार) नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ८८ हजार रुपैयाँ थियो भने यो हप्ताको अन्तिम कारोबार दिन घटेर ८५ हजार ६ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभावश्वरुप नेपाली बजारमा पनि सुनको मूल्य निरन्तर आरोलो लागिरहेको छ ।

२ हप्ता अगाडि अमेरिकी राष्ट्रपति जो वाइडनले नयाँ कार्यक्रम ग्रीन भ्याली सोलार सिस्टमको लागि सुन बिक्री गरेको थिए । यस्तै, विश्वका मुख्य धनाढ्यमध्ये प्रमुख १० भित्र पर्ने टेन वारेन बफेटले पनि ठूलो मात्रामा सुन बिक्री गरेका थिए । चीनमा नयाँ वर्ष सकिएसँगै चीनको माग घटेको छ ।