१० मंसिर २०८१, सोमबार
बुद्ध एयरले जनवरीदेखि नेपालगञ्ज–नयाँदिल्ली उडान गर्ने अनुमति पाएको छ । नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरको सो उडानको तालिका जनवरी १, २०१९ देखि लागु हुनेगरि स्वीकृत गरेको हो ।
यसअघि वुद्ध एयरले नेपालगञ्जबाट भारतको राजधानी नयाँदिल्लीका लागि दैनिक ३ उडान बिहान ६ः३०, दिउँसो १ र साँझ ५ः१० बजेका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्राचारसहित अनुरोध गरेको थियो ।
वुद्ध एअरलाई अनुमति दिएसँगै नेपाल पर्यटन तथा संस्कृति मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले भारत सरकारलाई वुद्ध एयरलाई नेपालगञ्जबाट दिल्ली उडानको लागि पत्राचार पनि गरेको छ ।
यता कम्पनीले उडानका लागि आफ्नो तर्फबाट व्यापक गृहकार्य गरिरहेको जनाएको छ । दिल्लीमा संसारभरिका एयरलाइन्स र यात्रु पर्यटकको व्यापक आवाजाही हुने गरेको कुरालाई ध्यानमा राखी वुद्ध एअरले विभिन्न एयरलाइन्ससँग अन्तरदेशीय टिकट विक्री वितरणका लागि इन्टरलाईन र जीडीएस प्रणाली अध्ययन र लागू गर्नका लागि विभिन्न कम्पनीसँग पत्राचार गरेको जनाएको छ ।
नेपालगञ्ज–नयाँदिल्ली उडानबाट सुदुर पश्चिम र पश्चिमका जनता प्रत्यक्ष लाभान्वित हुनेछन् । बर्दिया, शुक्लाफाँटा निकुञ्ज, मनोरम हिमश्रृंखला, खप्तड, स्वर्गद्वारी रारा, तिलिचो तालतलैयाले पर्यटकहरुलाई पनि आकर्षित गर्ने भएकाले यो उडान गर्न लागिएको कम्पनीले जनाएको छ ।
नेपालगञ्ज–नयाँदिल्लीको उडान लगत्तै वुद्ध एयरले नेपालगञ्ज–पोखराको दैनिक उडान पनि भर्ने विज्ञप्तिमा जनाएको छ ।