९ मंसिर २०८१, आईतवार
झापाको कनकाई नगरपालिका स्थित एक अलकत्रा उद्योगमा युवा संघ नेपाल झापाले तालाबन्दी गरेको छ । युवा संघले गुणस्तरहीन अलकत्र उत्पादन गरेको भन्दै कनकाई– १ मा रहेको शिव निर्माण सेवामा शुक्रबार तालाबन्दी गरेको हो । ‘यहाँबाट उत्पादित अलकत्रा प्रयोग गरेर निर्माण गरिएका सडक केही समयमै उक्किन थालेका छन्’ युवा संघ झापाका अध्यक्ष शम्भु भण्डारीले भने, “गुणस्तरहीन भएको थाहा पाएपछि हामीले तालाबन्दी गरेका हौँ ।”
शिव निर्माण सेवाले उत्पादन गरेको अलकत्र प्रयोग गरिएका सबैजसो कालोपत्रे गुणस्तरहीन भएको युवा संघ नेपालका केन्द्रीय सदस्य त्रिलोचन सापकोटाले बताए । उनले विकास निर्माणको काममा गुणस्तरहीन वस्तुको प्रयोग गर्न नमिल्ने उल्लेख गरे ।
जिल्लाको विभिन्न स्थानमा निर्माण भएका सडक गुणस्तरहीन भएको भन्दै स्थानीयबासीले गुनासो गरेपछि युवा संघले अनुगमन गरेको छ । अनुगमनका क्रममा शिवसताक्षीको धरमपुर–पाराबारी ९ किलोमटर सडक, कनकाई नगरपालिकास्थित लक्ष्मीपुर चोकमा सडक फराकिलो बनाइएको ठाउँ र अर्जुनधाराको जयपुरमा १ किलोमिटर कालोपत्रेको अवस्था गुणस्तरहीन भेटिएको केन्द्रीय सदस्य सापकोटाले बताए ।
यता, उद्योगका सञ्चालक डा. दिपककुमार सिंहले आफ्नो उद्योगबाट उत्पादन भएको अलकत्रा गुणस्तरहीन नभएको दाबी गरे । ‘हामीले उत्पादन गरेको अलकत्रा गुणस्तरीय छ’ सिंहले भने ।