सरकारले प्राकृतिक विपत्तिमा परेका परिवारलाई ५० हजारका दरले राहत दिने

होमल्याण्ड खबर

२०७८ असार २० गते, आईतवार १६:०८ मा प्रकाशित

​उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले प्राकृतिक विपत्तिमा परेका ५ सय ७२ परिवारलाई ५० हजारका दरले राहत दिने ​बताएका छन् ।

आजको राष्ट्रिय सभा बैठकलाई सम्वोधन गर्दै उनले बाढी, पहिरो लगायतको प्राकृतिक विपत्तिबाट असार १६ गतेसम्म घरमा क्षति पुगेका ती परिवारलाई अस्थायी बसोबासका लागि जिल्ला प्रशासन कार्यालय मार्फत उक्त रकम दिने जानकारी गराएका हुन् ।

यो वर्षको मनसुन सुरु भएयता अहिलेसम्म प्राकृतिक विपत्तिबाट ५ सय ६५ घरमा पूर्ण क्षति भएको, १ सय १२ घरमा सामान्य क्षति पुगेको उनले जानकारी गराए । उनले क्षतिग्रस्त घरको पुनर्निर्माणमा सरकारले सहयोग गर्ने बताए ।

यस्तै बाढी पहिरोमा परेका २ सय ७८ जनलाई सेनाको हेलिकोप्टरबाट र २ हजार जनालाई अन्य माध्यमबाट उद्धार गरिएको मन्त्री पौडेलले जानकारी गराए  ।

गृहमन्त्री पौडेलले प्राकृतिक विपत्तिमा परेकाहरुको उद्धार ,राहत तथा पुनःस्थापनका लागि सरकारले स्रोत, साधन र शक्ति परिचालन गरेको बताए । त्यसका लागि प्रदेश र स्थानीय सरकारसँग पनि समन्वय गरेको उनको भनाइ छ ।