माओवादीद्वारा बाढी प्रभावितलाई ६७ लाख सहयोग

होमल्याण्ड खबर

२०७८ श्रावण ११ गते, सोमबार १६:१० मा प्रकाशित

सिन्धुपाल्चोक बाढी प्रभावित यहाँका तीन पालिकालाई नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेशले आर्थिक सहयोग गरेको छ ।  पार्टीका केन्द्रीय सदस्य एवं प्रदेशका पूर्वमन्त्री युवराज दुलाल, केन्द्रीय सदस्य माधव सापकोटा र नेता चन्द्रबहादुर थापाको विशेष पहलमा तीन पालिकालाई आज आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

प्रदेशभित्र माओवादी केन्द्रले नेतृत्व तथा प्रतिनिधित्व गरेका स्थानीय तहबाट सङ्कलित रकम मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकालाई हस्तान्तरण गरिएको थापाले जानकारी दिए।

दुई पालिका हेलम्बु र मेलम्चीलाई रु २३ लाख २९ हजार ९९९ का दरले र पाँचपोखरी थाङपाललाई रु २० लाख २९ हजार ९९९ हस्तान्तरण गरिएको हो । प्रदेश कमिटिका अध्यक्ष नारायण दाहालले विपत्तिमा अहिलेका लागि यो सहयोग गरिएको जनाउँदै क्षतविक्षत भएका प्रभावित स्थानीय तहलाई पुनःहराभरा बनाउन केन्द्रमा पनि पहल गर्ने बताए ।

नेता सापकोटाले बाढीग्रस्त क्षेत्र मेलम्ची र हेलम्बुमा तत्काल दुई बेलिब्रिज बनाउन पहल भइरहेको र अर्थ मन्त्रालयबाट पुल निमार्णका लागि निर्देशन आइसकेको जानकारी गराए । कार्यक्रममा प्रभावित पालिकाबाट प्रतिनिधित्व गर्दै मेलम्चीका नगर प्रमुख डम्बर अर्यालले विपद्का बेला सहयोग गरेकामा माओवादी नेतृत्वलाई धन्यवाद व्यक्त गरे।