तेस्रो किस्ता लिने भूकम्पप्रभावित दुईलाख नाघे

होमल्याण्ड खबर

२०७५ असार ३१ गते, आईतवार ०६:३५ मा प्रकाशित

भूकम्पपछिको पुनःनिर्माणअन्तर्गत निजी घर निर्माण अन्तिम चरणमा पुर्याएर तेस्रो किस्ता लिने लाभग्राहीको संख्या दुई लाख नाघेको छ ।

घर निर्माण सम्पन्न गरी वा छानो छाउने तहसम्म पुर्याएका दुईलाख आठ हजार ४३ लाभग्राहीले तेस्रो तथा अन्तिम किस्ता बुझिसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । यद्यपि, तेस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या दुई लाख ३४ हजार ९४२ पुगिसकेको छ । उनीहरु निजी आवास अनुदानको तेस्रो किस्तावापतको रु एकलाख लिनका लागि योग्य भइसकेका छन् ।

तेस्रो किस्ताका लागि निवेदन दिने लाभग्राहीको संख्या दुई लाख ४६ हजार २८८ पुगेको छ । जिल्लागतरुपमा दोलखामा सबैभन्दा धेरै ३३ हजार ५८२ले तेस्रो किस्ता लिएका छन् सिन्धुपाल्चोकका ३० हजार ४४४, गोरखाका २९ हजार ८८० लाभग्राहीले तेस्रो किस्ता लिएका छन् ।
तेस्रो किस्ता लिने लाभग्राहीको संख्यासँगै निर्माण सम्पन्न भएका घरको संख्यामा उत्साहजनक बढोत्तरी भइरहेको छ । पाँचलाख नौ हजार ४१८ घर पुनःनिर्माणको चरणमा छन् जसमध्ये दुई लाख ३९ हजार ९८को निर्माण सम्पन्न भइसकेको छ ।

त्यसैगरी, दोस्रो किस्ता लिने लाभग्राहीको संख्या पनि उत्साहजनक ढंगले वृद्धि भएको छ । बुधबारसम्मको तथ्यांकअनुसार चारलाख ४९ हजार ३३८ जना लाभग्राहीले दोस्रो किस्ता लिइसकेका छन् । भूकम्प प्रतिरोधी मापदण्डअनुसार डिपिसी तहसम्मको निर्माण गरेपछि लाभग्राहीले दोस्रो किस्ता पाउँछन् ।
पछिल्लोपटक गुनासो सम्बोधनपछि थपिएकासमेत गरी कूल लाभग्राहीको संख्या आठलाख सात हजार ४८६ पुगेको छ जसमध्ये सात लाख २१ हजार ७३६ सँग अनुदान सम्झौता भइसकेको प्राधिकरणले जनाएको छ ।