गोरखाको सौरपानी मा फेसबुक अभियानबाट रकम संकलन गरी एम्बुलेन्स सञ्चालन

होमल्याण्ड खबर

२०७५ श्रावण १ गते, मंगलवार ०६:१० मा प्रकाशित

बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ सौरपानी उपस्वास्थ्य चौकीमा बुधबारदेखि एम्बुलेन्स सेवा सञ्चालनमा आउने भएको छ । सुलिकोटका युवाहरुले फेसबुक अभियान चलाएर रकम संकलन गरी एम्बुलेन्स खरीद गरेपछि सौरपानिमा बुधबारदेखि एम्बुलेन्स सेवा सञ्चालनमा आउने भएको हो ।

फेसबुक अभियानबाट रकम संकलन गरी कुल १२ लाख रुपैँयाको एम्बुलेन्स खरिद गरेको सुलिकोटा गाउँपालिकाका स्थानीय (अभियानकर्ता) दिपक ढकालले जानकारी दिए । ‘हाम्रो गाउँमा कोही बिरामी भएभने उपचार गर्न सदरमुकामसम्म लैजान अत्यन्तै समस्या पर्थाे । त्यसैले हामीले फेसबुक अभियान सञ्चालन गरेर केही सहयोग जुटाएर एम्बुलेन्स किनेका हौँ ।’ बुधबारदेखि सञ्चालन हुने गरी उपस्वास्थ्य चौकीलाई मङ्लबार एम्बुलेन्स हस्तान्तरण गरीने ढकालले बताए ।

‘उपस्वास्थ्य केन्द्रबाटै एम्बुलेन्स सेवा प्रदान गर्नु स्वास्थ्य चौकीका लागि र सम्पूर्ण बारपाक सुलिकोट गाउँपालिकाका जनताहरुका लागि खुसीको कुरा हो’ सौरपानी उपस्वास्थ्य चौकीकी प्रमुख अनिता पनेरु भन्छिन् ‘अब बिरामीहरुलाई यहाँबाट अन्यत्र उपचार गर्न लैजानु परेमा हामीले तत्काल एम्बुलेन्स मार्फत लैजान सक्ने भएका छौँ । अबदेखि कुनै बिरामीहरु यहाँबाट थप उपचारका लागि बाहिर लान नसकेर कसैले दुख ब्यहोर्नु पर्ने छैन् ।’ एम्बुलेन्स सेवा सञ्चालन गर्नका लागि बेलायतबाट रुद्र ढकाल, जापानबाट ईश्वर ढकाल, काठमाडौँबाट र्एश्वर पनेरु, सौरपानीबाट दिपक ढकाल लगायतले रकम संकलनमा सहयोग गरेका हुन् ।