तत्काल पर्यटन आउने व्यवस्था मिलाउन पर्यटन व्यवसायीको माग

होमल्याण्ड खबर

२०७८ भाद्र ३१ गते, बिहीबार १४:४३ मा प्रकाशित

व्यवसायीहरूले तत्काल पर्यटक नेपाल आउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । कोरोना महामारीको जोखिम कम भइरहेकोले सरकारले पर्यटकका लागि अन अराइभलको भिसा र क्वारेन्टिन बस्ने प्रावधानलाई सहज बनाउन पर्यटन व्यवसायीहरूले माग गरेका हुन् ।

होटल संघ नेपाल(हान)का प्रथम उपाध्यक्ष विनायक शाहले अन्य देशहरूमा पर्यटकका लागि भिसा दिइरहेको अवस्थमा नेपालले पनि चीन, भारत र अन्य मुलुकका पर्यटकहरू भित्र्याउन सरकारले सहजता प्रदान गर्नुपर्ने बताए ।

पर्यटनको बजार बढाउन ढिला भइसकेको भन्दै शाहले सरकारले कर्मचारीका लागि घोषणा गरेको १० दिनको पर्यटन काज बिदालाई कार्यविधि बनाएर लागू गर्न माग गरे । विदेशी पर्यटकलाई एक महिनाको फ्रि भिसा दिँदा पनि पर्यटकको संख्या बढ्ने उनको भनाइ छ ।

होटल पबेराका सञ्चालक राधेश्याम थापाले कोरोनाका कहर कम भइरहेकोले अवस्थामा पर्यटन क्षेत्र खोल्दै लैजानुपर्नेमा जोड दिए । नेपालको सौन्दर्यताको चर्चा विश्वभर नै भएको र महामारी पनि घटेको अवस्थामा पर्यटकको संख्यामा बढ्ने आशा व्यक्त गरे ।

पर्यटकका लागि सहजता प्रदान गरे मात्र पनि लाखौं पर्यटन व्यवसायीहरूको जनजीवनमा परिरहेको संकट टर्ने उनीहरूको भनाइ छ । डेढ वर्षदेखि थलिएको पर्यटन तथा होटल व्यवसायलाई निर्वाध रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाइदिन पनि व्यवसायीले माग गरेका छन् ।